विद्यालयभित्रका विसंगतिविरुद्ध लाग्न नव प्रवेशी शिक्षकलाई आग्रह

विराटनगर । शिक्षा क्षेत्रमा देखिएको विकृति र विसंगती अन्त्यको लागि नयाँ नियुक्त भएका शिक्षकले भूमिका खेल्नु पर्ने सरकारी अधिकारीहरूले बताएका छन् । प्राथमिकता तहको शिक्षकलाई स्थायी पत्र वितरण कार्यक्रममा सरकारी अधिकारीले शिक्षा सुधारका लागि लाग्न आग्रह गरेका हुन् । जिल्ला शिक्षा समितिको आयोजनामा भएको कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले शिक्षकले राजनीति गर्छन् भनेर लागेको आरोप चिर्ने दायित्व नयाँ नियुक्त भएर जाने शिक्षकको भएको बताए । विद्यालयभित्र हुने विकृति र विसंगती विरुद्ध लड्ने आँट गर्न उनले नवप्रवेशी शिक्षकलाई आग्रह गरे ।

‘विकृति विसङ्गतिविरुद्ध लाग्ने काम तपाईँहरूबाट हुनुपर्छ, त्यसरी लाग्दा तपाईँलाई असुरक्षित भएको महसुस भयो भने प्रशासनमा उजुरी दिनुस्,’ उनले भने, ‘तपाइँको शिक्षिका सुधार अभियानमा साथी दिने र सुरक्षा दिने दायित्व हाम्रो हो, हामी तयार छौँ ।’

उनले राजनीतिको छाता ओढेर पठन पाठनमा सहभागी आग्रह गरे ।

‘विद्यालय र शिक्षण क्रियाकलापको कुरा अभिभावकले बुझ्दैनन्,’ प्रजिअ भट्टराईले भने, ‘विद्यार्थीलाई मात्र पढाएर हुँदैन विद्यालय भित्रको कुरा अभिभावकलाई बुझाउने दायित्व पनि शिक्षक तपाईँहरूकै हो ।’

सामाजिक विकास मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलले शिक्षकले अभिभावक र विद्यार्थीको मन जित्न सक्नु पर्ने बताए ।

‘जहाँ बसे पनि जसरी पढाए पनि विद्यार्थी र अभिभावकको मन जित्न सक्नु पर्छ,’ उनले भने, ‘विद्यार्थी र अभिभावकले यो शिक्षक आफ्नो ठाउँमा बसी रहुन् भन्ने खालको वातावरण बनाउने काम स्वयम शिक्षकको हो ।’

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतमले मोरङ जिल्लामा ३८४ जनाको पदपूर्ति गर्नु पर्नेमा ३५६ जनालाई नियुक्त दिन सफल भएको बताए । सुरुको अवस्थादेखि अहिले नियुक्ति दिँदासम्म ठुलो इनर्जी खर्च भएकोमा आज आउँदा राहतको महसुस भएको गौतमले सुनाए । उनले शिक्षकको पद अन्य जागिर जस्तो नभएकोले यो पद मानव बनाउने दायित्व बोकेको शिक्षक भएको बताए । उनले नव प्रवेशी शिक्षकहरूलाई जहिल्यै विद्यालय शिक्षा सुधारको पक्षमा लाग्न आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला शिक्षा समितिका अध्यक्ष अजम्बर राईले शिक्षाको स्तर सुधार गर्नु पर्ने बताए ।

‘पुरानो शैलीमा चलेका विद्यालयहरूलाई प्रविधिसँग जोडेर लग्न आग्रह गरे,’ उनले भने, ‘प्राविका तेस्रो तहका तपाईँहरूको हातमा पहिलो बालबालिका आउँछन्, तपाईँले उनीहरूलाई गर्ने स्वागत र उनीहरूको सेवासँग पनि कस्तो मानव उत्पादन गर्ने भन्ने देखिन्छ । अभिभावका छोराछोरीको भविष्य तपाइँ शिक्षकहरूको हातमा छ ।’

टिकटकले भुत्ते शिक्षक शिक्षक महासंघ मोरङका अध्यक्ष दामोदर सिग्देलले पछिल्लो समय टिकटकले शिक्षकहरूको ऊर्जावान् समयलाई बरबाद पारिदिएको बताए ।

‘पछिल्लो समय क्षणिक मनोरञ्जनका कारण टिकटकले शिक्षकलाई भुत्ते बनाउने काम गरेको छ,’ उनले भने, ‘तपाईँ तिखारिएर प्रखर बन्ने की टिकटकमा बसेर भुत्ते नै हुने भन्ने निर्णय लिने काम तपाईँहरूको हो ।’

उर्जावान् र सिर्जनात्मक क्षमतालाई क्षणिक मनोरञ्जनका साधनले भुल्याउने मात्र काम गरेको सिग्देलको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *