सवारीसाधनको परीक्षण उपकरणबाट गरिने

काठमाडौँ । खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।

उपकरण मर्मत गरेर तयार भएपनि अहिलेसम्म कार्यविधि नभएकाले सञ्चालन शुरु हुन नसकेको सवारी परीक्षण केन्द्रले जनाएको छ ।

सरकारी कार्यालयमा उपकरण सञ्चालनका लागि कार्यविधि आवश्यक पर्छ । सञ्चालनको मापदण्डबारे यातायात व्यवस्था विभागले छलफल चलाएको छ । उपकरण मर्मतपछि नियमित नचलाए पनि कहिलेकाहीँ सञ्चालन भइरहेको केन्द्रका प्रमुख मणिराम भुषालले बताए । कानुन बनाएर बाध्यकारी नभएकाले भने नियमित गर्न नसकिएको हो ।

उनले भने, ‘सवारी ऐनमा जाँच गर्ने भने पनि उपकरणबाट जाँच गर्न अनिवार्य गरिएको छैन ।’ उपकरणको प्रयोग गरी जाँच गर्दा कति पुरानो गाडीलाई गर्ने भनी पहिले मापदण्ड बनाइने छ । नयाँ किन्नासाथ वा त्यसको केही वर्षसम्म त्यसको जाँच नगर्दा पनि हुनसक्छ । कस्तो गाडीमा अनिवार्य गर्ने भनी विज्ञले दिएको सुझावका आधारमा गरिनेछ । जाँच गर्ने भनी ऐनमा उल्लेख रहेकाले उपकरणमार्फत गर्ने भनी कार्यविधिमा समेट्न सकिने उनले जानकारी दिए ।

उनले भने, ‘मापदण्ड आउनासाथ सुरु गर्न हामी तयारी अवस्थामा छौँ ।’ केन्द्रमा रहेका हलुका र गहैँ (हेभी) गरी दुबै सवारीसाधनको जाँच गर्ने उपकरण मर्मत गरेर सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ । विभागबाटै यो यो गाडीमा र यसरी गर्ने भनी यकिन गर्नुपर्ने छ । उनले भने, ‘सरकारले बाध्यकारी गरे मात्रै सेवाग्राहीले गर्न थाल्नुहुन्छ ।’

अहिले सवारीसाधन सञ्चालनका लागि केन्द्रले जाँच गर्दै आएको छ । अहिलेसम्म ‘म्यानुअल’ रुपमा जाँच हुँदै आएकामा त्यसलाई उपकरणका माध्यमबाट जाँच गर्न लागिएको हो । सार्वजनिक सवारीसाधन छ–छ महिनामा जाँच गर्नुपर्छ । अहिले प्राविधिकले हेरेर परीक्षण गरिरहेका छन् । विदेशमा निजी सवारीसधनमा जाँच गर्नुपर्ने व्यवस्था भए पनि नेपालमा अहिलेसम्म अनिवार्य छैन । निजी सवारीसधनमा प्रदूषण जाँच मात्रै अनिवार्य गरिएको छ । केन्द्रमा अहिले प्रदूषण जाँच गर्न मासिक २ हजार सयदेखि तीन हजारसम्म सवारीसधन आउछन् ।

जाँच पासका लागि मासिक ४÷५ सय सवारीसाधन आइरहेको जनाइएको छ । जाँचपासका लागि आउने सवारीसाधन बढिरहेको छ ।

उपकरणमार्फत जाँच सुरु गर्न सरकारले कानुनमा बाध्यकारी बनाउनुपर्ने र मापदण्ड पनि तोक्नुपर्ने केन्द्रले जनाएको छ । लामो समयसम्म थन्किएका उपकरण मर्मत भएको झण्डै सात महिना भएको छ । उनले भने, ‘यो बीचमा कतै समस्या छ छैन भनेर हेरिएको छ । साझालगायत कतिपय गाडीको जाँच गरिएको छ ।’

सवारीसधनमा यतिसम्म हुँदा पास र यति हुँदा फेल भन्ने तय हुन बाँकी छ । यो गाडीको जाँच गर्दा यति आयो भन्ने थाहा भए पनि त्यति आउँदा पास हुन्छ वा फेल भन्ने थाहा नहुने बताइएको छ । उनले भने, ‘त्यो गाडीको अवस्थाअनुसार कति अङ्क आयो भन्ने प्रिन्टमा देखिन्छ ।’

विभिन्न देशमा ब्रेकको २ चक्काबीचको फरक १५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । सवारीसधनका अरु भागमा अरु देशका आ–आफ्नो मान्यता छन् ।

नेपालमा साना गाडी र ठूला गाडीको कति कति हुनुपर्छ भन्ने यकिन गर्न सकिन्छ र सोही आधारमा जाँच्न सकिन्छ । उनले भने, ‘हामीले तोकेको न्युनतमसम्म पुगेमा पास हुने र नभएमा फेल हुने गर्न सकिन्छ ।’ उपकरणको मर्मत उत्पादनकर्ता चिनियाँ कम्पनीको सहयोगमा भएको थियो ।

उपकरण पूर्णरुपमा तयारीमा रहेको र सञ्चालनका लागि हेभिगाडीको चालक अनुमतिपत्र भएको चालक आवश्यक रहेको केन्द्रले जनाएको छ । उपकरण नियमित सञ्चालन गर्न दुई चालक आवश्यक पर्छ ।

उपकरणको क्षमताअनुसार आधा घण्टामा एउटा र दिनमा १५ गाडी मात्रै जाँच्न सकिन्छ । त्यो क्षमताअनुसार धेरै गाडी कसरी गर्न सकिएला भन्नेमा विभागमा अन्यौल छ । अरुतिरको सवारी परीक्षण केन्द्रले पनि जाँचका लागि उपकरण खरिद गर्ने तयारीमा रहेको बताइएको छ ।

उपकरणबाटै सवारीसाधनको स्वस्थता परीक्षणका लागि सरकारले आव २०६६÷६७ को बजेटमा गरेको व्यवस्थानुसार वि.सं २०६८ मा सवारीसाधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सो उपकरणमा परीक्षणका लागि ठूला र साना सवारी साधनलाई छुट्टाछुट्टै लेन छन् । कुनै सवारीसाधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा देखिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *