सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेको मुद्दाको पेसी तोकिएको हो ।

घिमिरेको इजलासमा १४औँ नम्बरमा लामिछानेको पेसी परेको छ । अन्तिमतिर पेसी परेकाले आज सुनुवाइ हुन सक्ने/नसक्ने भन्ने टुङ्गो लागेको छैन । सर्वोच्च अदालतले नै यो मुद्दा छिटो टुंग्याउन जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको थियो ।

सन्दीपविरुद्ध एक किशोरीले गएको भदौमा जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । त्यसको एक महिनापछि सन्दीप पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिनाबढी थुनामा बसेपछि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । त्यसपछि यो मुद्दा सर्वोच्च पुगेको थियो ।

दुवै पक्ष सर्वोच्चमा पुगेपनि सर्वोच्चले उच्च अदालतको आदेश संशोधन गर्दै सन्दीपमाथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 1 =