मन्त्रिपरिषद् विस्तारमा विलम्ब

सङ्ख्याको खाका तयार, मन्त्रालयमा किचलो

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुने संकेत देखिएको छ । सत्ता साझेदार १० राजनीतिक दलमा सरकारको साझा नीति र कार्यक्रमपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने आवाज उठेपछि  ढिलाइ हुने संकेत देखिएको हो ।

यसअघि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने आन्तरिक सहमति भएकोमा अब साझा नीति र कार्यक्रम पहिलो प्राथमिकतामा परेको छ । त्यसका  लागि गृहकार्य भइरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रम आएपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘सरकारको न्यूनतम साझा कार्यक्रममाथि छलफल भइरहेको छ । छलफल भएर टुङ्गो लाग्ला । त्यसमा हस्ताक्षर होला,’ उनले भने, ‘त्यो हस्ताक्षर त्यही वैचारिक मान्यता, त्यही नीतिगत मान्यता, त्यही कार्यक्रमकै मान्यताको आधारमा नै सरकारले पूर्णता पाउने हो ।’

 नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पनि नीति तथा कार्यक्रम र मन्त्रिपरिषद् विस्तार सँगसँगै हुनसक्ने बताए । ‘सरकार विस्तार आजै हुँदैन । न्यूनतम साझा कार्यक्रम र मन्त्रिपरिषद् विस्तार सँगसँगै हुनसक्छ । प्रधानमन्त्रीज्यूले कहिले संयुक्त, कहिले अलगअलग संवाद गरिरहनुभएको छ,’ उनले भने, ‘विश्वासको मत लिएपछि ४, ५ दिनमा हामी यसलाई टुङ्ग्याउँछौँ भन्नुभएको थियो । त्यही तीव्रताका साथ काम भइरहेको छ । अब २, ३ दिनभित्रै सरकारले पूर्णता पाउँछ ।’

सङ्ख्याको खाका तयार, मन्त्रालयमा किचलो
दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेपनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रालय भागबन्डाको खाका तयार बनिसकेको स्रोतले बतायो ।

जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय यथावत् राख्ने सहमति भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तीन मन्त्रालय लिएर सरकारमा जाने अवस्था बनेको छ । रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान सहमत बनेको हो ।

जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने गरी खाका बनेको छ भने नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिने गरी खाका तयार गरिएको स्रोत बताउँछ । लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक/एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गरी तयारी भएको छ ।

प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जानेछ भने बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सरकारमा भित्रने इच्छा राख्दै आइरहेका छन् । तर, सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *