बारा २ : उपेन्द्र भर्सेज राजेन्द्र, बागीमा माओवादी !

जनकपुरधाम । रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै उनी प्रतिनिधि सभा निर्वाचित क्षेत्र बारा– २ सहित तीनवटा क्षेत्रमा उपनिर्वाचन हुने भएको छ । यसको प्रक्रिया निर्वाचन आयोगले सुरु गरिसकेको छ ।

चैत २० मा मनोनयन र वैशाख १० मा उपनिर्वाचनको कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ ।

उपनिर्वाचन घोषणा भएसँगै बारा–२ बाट चुनाव लड्न विभिन्न नेताहरूले गृहकार्य थालेका छन् । उक्त क्षेत्रमा हेभीवेट नेताहरू चुनाव लड्ने चर्चा छ । बारा–२ कनठ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सप्तरी– २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले यादव पराजित भएका थिए । अब उनी बारा–२ बाट चुनाव जितेर संसद छिर्ने दाउमा छन् ।

अर्कोतिर त्यही क्षेत्रबाट चुनाव जितेर संसद छिर्ने दाउमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोसमेत लागेका छन् । आफ्नो साविकको निर्वाचन क्षेत्र धनुषा– ३ छोडेर उनी ४ मंसिरको चुनावमा सर्लाही– २ बाट उम्मेदवार बनेका थिए । तर, माओवादी केन्द्रका उम्मेदवार महेन्द्र राय यादवसँग उनी पराजित भए ।

अहिले उनले आफ्नो सम्पूर्ण ध्यान बारा– २ मा केन्द्रित गरेका छन् । महतो निकट स्रोतका अनुसार त्यसका लागि उनले आफ्ना निकटस्थहरूसँग छलफल समेत सुरु गरिसकेका छन् ।

उपेन्द्र यादवलाई रोक्न त्यहाँ जनमत पार्टीले समेत आफ्नो कार्ड फ्याँक्ने भएको छ । यसका लागि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले गढीमाई शक्ति पीठको दर्शन गरेर मिसन बारा– २ अभियान नै सुरु गरिसकेका छन् ।

अर्कोतिर मंसिर ४ को चुनावमा रामसहाय यादवका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहासमेत चुनाव लड्ने मनस्थितिमा छन् । उनी सकभर पार्टीबाटै टिकट लिएर नभए बागी लडेर पनि चुनाव जित्ने मुडमा छन् । मंसीर ४ को चुनावमा ३ सय ५४ मतले मात्रै पराजित कुशवाहाले १३ हजार ४ सय ६८ मत पाएका थिए भने विजयी उपराष्ट्रपति यादवले १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए ।

पछिल्लो चुनावमा यस क्षेत्रमा जसपाले नेकपा एमालेसँग र माओवादीले नेपाली कांग्रेससहितका पाँच दलीय गठबन्धन गरेर उम्मेदवार खडा गरेका थिए । माओवादी केन्द्रका नेता कुशवाहाले त्यही हिसाबको मत पुनः आउने र आफू जित्नेमा ढुक्क रहेकोले जुनसुकै हालतमा चुनाव लड्ने मनस्थितिमा छन् ।

यता माओवादी केन्द्रले उक्त क्षेत्रमा उपेन्द्र यादवलाई साझा उम्मेदवार बनाएर कुशवाहालाई अन्यत्र व्यवस्थापन गर्ने योजना बनाएका छन् । कारण, पछिल्लो डेढ दशक यताको राजनीतिलाई नियाल्ने हो भने कथमकदाचित बाहेक माओवादी अध्यक्ष प्रचण्डलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको दह्रो साथ छ ।

रामसहायसँग ३ सय ५४ मतले मात्रै पराजित भएका कुशवाहा, जसपा अध्यक्ष यादव, लोसपा नेता महतो त्यस क्षेत्रका लागि हेभिवेट उम्मेदवार हुने देखिन्छ ।

जसपा अध्यक्ष यादव, महतो र राउत हाल १० दलीय गठबन्धनमा छन् । तर गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि मित्रवत् प्रतिस्पर्धामा महतो, राउत र यादवका पार्टीले प्रतिस्पर्धा गर्ने सम्भावना देखिन्छ ।

यता गठबन्धनको निर्णयले कुशवाहालाई उम्मेदवारी दिनबाट रोक्न सक्ने संकेत देखिएपछि जनमत पार्टीले कुशवाहालाई आफ्नो पार्टीमा ल्याएर उम्मेदवार बनाउन प्रयास गरिरहेको जनमत पार्टीका एक केन्द्रीय सदस्यले बताए ।

जनतम पार्टीकै एक शीर्ष नेता भन्छन्,र्र्—हामीले अहिले नै त्यस क्षेत्रमा कसलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छैनौँ । तर, कुनै प्रभावशाली व्यक्तिलाई नै उम्मेदवार बनाउने प्रयास भइरहेको छ ।’

पछिल्लो निर्वाचनको मत परिणाम हेर्ने हो भने जनमत पार्टीले माओवादी केन्द्रका कुशवाहा बाहेकका अन्य उम्मेदवार खडा गरे यादवलाई हराउने प्रयास विफल हुने देखिन्छ । पछिल्लो निर्वाचनमा जनमत पार्टीका राजेश साहले २ हजार ७ सय २५ मत प्राप्त गरेका थिए ।

पहिले माओवादीमै रहेका कुशवाहा बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति गठन गरेपछि उतै लागेका थिए । तर २०७४ को चुनावताका फेरी माओवादीमै फर्केर चुनाव लडेका थिए । त्यतिखेर पनि उनी रामसहायसँग झिनो मतान्तरले पराजित भएका थिए ।

मधेसको राजनीतिमा यादवलाई पछारेपछि मात्रै आफ्नो करियर बन्ने ठानेका डा. राउत सप्तरीबाट चुनाव जितेपछि उनीप्रति निकै आक्रामक देखिएका छन् । अझ रोचक त के छ भने उपराष्ट्रपतिको चुनावमा उनको उम्मेदवार हारेपछि अझै आक्रामक बनेका हुन् ।

रामसहाय उपराष्ट्रपति निर्वाचित भएपछि त्यस क्षेत्रबाट चुनाव जितेर संसद छिर्ने दाउमा रहेका उपेन्द्रलाई त्यहाँ पनि मधेस निकट पार्टीहरूले घेराबन्दी गरी फेरि चुनाव हराउने दाउमा छन् । अर्कोतर्फ यो चोटि यादव चुनाव हारे उनको राजनीतिक करियर नै लगभग चौपट हुने आकलन एकाथरीको छ । तर मधेस राजनीतिको चतुर खेलाडी यादवको जित करिब करिब निश्चित रहेको ग्राउन्डमा देखिन्छ ।

मंसिर ४ को निर्वाचनमा त्यस क्षेत्रबाट जसपाकै बागी उम्मेदवार रामकिशोर यादवले तेस्रो सबैभन्दा बढी मत पाएका थिए । उनले ११ हजार ४३ मत प्राप्त गरेका थिए । अहिले उनी जसपा नेपालमा फर्किसकेका छन् ।

प्रदेश सभातर्फ पनि बारा २ का दुवै क्षेत्रमा जसपा उम्मेदवारहरू शारदा शंकर प्रसाद कलवार र बच्चा राउत अहिरले विजयी प्राप्त गरेका छन् । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लडेका कलवार चुनाव जितेर फेरि जसपा नेपालमै फर्किसकेका छन् ।

त्यस क्षेत्रमा जसपाको समानुपातिक मत हेर्दा पनि अध्यक्ष यादवले नै चुनाव जित्ने सम्भावना देखिन्छ । त्यहाँ समानुपातिकतर्फको मत परिणाम अनुसार पनि जसपा नै पहिलो स्थानमा छ ।

१३ हजार २ सय ४२ मत सहित जसपा पहिलो स्थानमा छ । कांग्रेस ११ हजार १ सय ७९ मत सहित दोस्रो स्थानमा छ । त्यसपछि एमालेको ९ हजार १ सय ९३, जनमत पार्टीको ८ हजार ८ सय ४६, लोसपाको ४ हजार २ सय ३५, नागरिक उन्मुक्ति पार्टीको तीन हजार ७ सय ९४, माओवादीको तीन हजार २ सय ६५, नेपाल संघीय समाजवादी पार्टीको दुई हजार ३ सय ६६, एकीकृत समाजवादीको एक हजार ९ सय ९६, राष्ट्रिय स्वतन्त्र पार्टीको एक हजार ४ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ सय ९२ समानुपातिक मत रहेको थियो ।

अहिले १० दलीय गठबन्धनकै साझा उम्मेदवार भएको अवस्थामा गत निर्वाचनमा आएका सबै दलको मत जोड्दा ४६ हजार ५ सय ५७ मत छ । त्यहाँ जसपाबाहेक मधेस केन्द्रित दलहरू जनमत, लोसपा र नागरिक उन्मुक्तिको समानुपातिक मत १६ हजार ८ सय ७५ मात्रै छ । यसअघि जसपालाई सघाएको एमालेले तीन मधेस केन्द्रित दलसँग गठबन्धन गर्ने सम्भावनाबारे पनि राजनीतिक वृत्तमा चर्चा छ । त्यस्तो अवस्थामा पनि सत्ता गठबन्धनकै मत अगाडि देखिन्छ । एमाले, जनमत, नागरिक उन्मुक्ति र लोसपाका समानुपातिक मत जोड्दा २६ हजार ६८ पुग्छ ।

यता त्यस क्षेत्रमा राजेन्द्र महतो र शिवचन्द्र प्रसाद कुशवाहा दुवै जना उम्मेदवार भए उपेन्द्र यादवलाई जित्न झन् सहज हुने बताइन्छ । बारा २ मा जातीय समीकरणको हिसाबले महतो र कुशवाहाबीच भोट डाईभर्ट भएर अध्यक्ष यादव जित्न सक्ने आकलन छ ।

त्यस क्षेत्रमा सबैभन्दा बढी यादव जातीका मतदाता छन् । यादव जातीका जनसंख्या मात्रै होइन त्यहाँ जसपाको संगठन पनि मजबुत छ ।

जसपाले बाराबाटै उपराष्ट्रपति र मधेस प्रदेशको मुख्यमन्त्री बनाएको छ । त्यस कारण पनि बारा २ का मतदाताहरू जसपाबाट उम्मेदवार बन्ने यादवप्रति झुकाव बढाएको देखिन्छ ।

अर्कातिर यस क्षेत्रमा यादव मतदाता करिब ३० देखि ३५ हजारसम्म छन् । र, चुनाव जित्न करिब १५ देखि २० हजारसम्म मत निर्णायक हुने देखिन्छ । चुनावमा जातीय फ्याक्टर पनि त्यति नै प्रभाव पार्छ । यसरी हेर्दा चुनावमा अध्यक्ष यादवले जातीय कार्ड मात्रै खेल्दा पनि जित सहजै निकाल्न सक्ने देखिन्छ ।

उपनिर्वाचनमा जुनसुकै दृष्टिकोणले हेर्दा पनि जसपा अध्यक्ष यादवले नै जित्ने सम्भावना देखिन्छ । तर पनि सप्तरी जस्तै मुडमा बारामा जनमानस उत्रियो भने यादवलाई जिताउन कुनै फ्याक्टर काम नलाग्ने समेत राजनीतिक विश्लेषकहरूको अनुमान छ ।

एकातिर सिके राउतले दिएको अभिव्यक्ति पनि खराब होइन राजनीतिज्ञहरू भन्छन्, ‘त्यहाँका जनताले पनि आफ्नै गाउँ ठाउँको नेता पाउनुपर्ने उनीहरूको अधिकार पनि हो । तर यहाँ सत्ताको लागि जे पनि हुनसक्ने उनीहरूको तर्क छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *