प्रचण्डले तयार पारे बाँडफाँटको खाका, कुन दललाई कति मन्त्रालय ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धन दलबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने पहल थालेका छन् । उनले साँझसम्ममा मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर भोलि मन्त्रिपरिषद् विस्तार गर्नेगरी पहल थालेका हुन् ।

प्रतिनिधिसभाबाट चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्डले शुक्रबारभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका थिए । तर मन्त्रालय भागबन्डामा दलीय सहमति नजुट्दा दाहालले भनेअनुसार शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेन । सहमति जुटाउन सत्ता गठबन्धन दलबीच दुईपक्षीय, बहुपक्षीय छलफल र आन्तरिक गृहकार्य भने भइरहेको छ ।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले पार्टी पदाधिकारी बैठकमा आइतबार साँझसम्म सत्ता गठबन्धन दलको बैठक राखेर सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भइरहेको बताएका थिए । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार भइसक्ने दाबी गरे । पार्टी पदाधिकारी बैठकपछि पत्रकारसँग कुराकानी गर्दै पौडेलले भने, ‘सोमबारसम्म क्याबिनेट विस्तार गरेर डेलिभरीका कुरामा अघि बढ्ने विषयमा छलफल भएको छ ।’

राष्ट्रपति निर्वाचनसँगै बनेको राजनीतिक समीकरणसँगै वर्तमान गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाबाहेक सबै १० दल सरकारमा जान लालायित छन् । राष्ट्रिय जनमोर्चाले भने सरकारमा नजाने निर्णय नै गरिसकेको छ । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टीलगायत मन्त्रिपरिषद् विस्तार हुँदा सहभागी हुन खोजिरहेका छन् । प्रधानमन्त्री प्रचण्ड पनि आफूलाई विश्वासको मत दिएका सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका हुन् । तर, दलहरूले तोकेरै धेरै मन्त्रालय दाबी गर्दा सहमतिको प्रयास सफल हुन सकिरहेको छैन ।

यस्तो छ प्रधानमन्त्रीको खाका
प्रधानमन्त्री प्रचण्डले कुन दलले कति मन्त्रालय पाउने भन्नेबारे प्रारम्भिक खाका तयार पारेका छन् । कांग्रेसलाई आठ, एकीकृत समाजवादी र जसपालाई दुई/दुई तथा मधेशवादी दलहरूलाई एक, डा. बाबुराम भट्टराईको दल समाजवादी पार्टीलाई एक र एक मन्त्रालय स्वतन्त्र सांसदलाई दिएर मन्त्रिपरिषद् विस्तार गर्ने खाका तयार पारेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको खाकाअनुसार सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पाँच मन्त्रालय लिनेछ । गठबन्धनको तेस्रो ठूलो दल रास्वपालाई तीन मन्त्रालय दिने तयारी प्रधानमन्त्रीको छ । नागरिक उन्मुक्ति र आमजनता पार्टीले एक/एक मन्त्रालय पाउने खाकामा उल्लेख छ । प्रधानमन्त्रीको खाकामा नयाँ दलहरू जनमत र उन्मुक्तिले चित्त बुझाउने छैनन् । यसअघि यी दुवै दलहरूले उपप्रधानमन्त्रीसमेत मागेका थिए ।

प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा माओवादी र जनमत पार्टी मात्रै छन् । प्रधानमन्त्रीले फागुन १६ गतेदेखि नै १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । नेकपा एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय प्रधानमन्त्रीकै जिम्मेवारीमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *