माओवादी पदाधिकारी बैठक : चैत्र १३ सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने (भिडिओ)


काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी सोमवार (चैत्र १३ गते) भित्रमा मन्त्रिपरिषद् बिस्तार गठबन्धन दलहरूको सहभागिता टुंगो लगाउने निर्णय गरेको छ ।
आज (शनिवार) पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादी पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सबै दलहरूसँग छलफल भएको बताएका छन् ।
उनले आइतबारसम्म भागबण्डाको प्रस्ताव तयार हुने समेत बताएका छन् ।
पार्टी बैठकपछि सञ्चारकर्मीहरू सँग कुरा गर्दै केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रस्ताव तयार भएपछि आइतबार वा सोमवार गठबन्धन दलहरूको बैठक बसेर मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने बताए ।
पौडेलले भने ‘सबै दलहरूसँग छलफल गरेर प्रस्ताव तयार गर्ने जिम्मा प्रधानमन्त्री दाहाललाई दिइएको थियो । सोही अनुसार मोटामोटी छलफल भएको र अब प्रस्ताव आइतबारसम्म तयार हुन्छ र ढिलोमा सोमवारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने कुरा छ, त्यसै अनुसार हामी अगाडी बढ्छौ ।’
पौडेलले गठबन्धन दलहरूसँग छलफल गरेर संसद्को कारबाही प्रभावकारी बनाउने र टिआरसी लगायतका विधेयक पारित गर्नेबारे बैठकमा छलफल भएको समेत बताए ।
उनले भने, गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरू पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने विषयमा पनि बैठकमा छलफल भएको छ । ‘आजको बैठकमा प्रदेशका सरकारहरू पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढ्ने बारेमा समेत संक्षिप्त कुराकानी भयो, पौडेलले भने ।’
हाल गठबन्धनमा रहेका १० दल र गठबन्धन बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सामेल हुन चाहेकाले प्रधानमन्त्रीलाई मन्त्रिपरिषद् विस्तार गर्ने सकस छ ।
चैत्र १३ सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउछ : सचिव, देवेन्द्र पौडेल #makalukhabar pic.twitter.com/WX5hXkN4LU
— Makalu Khabar (@makalukhabar) March 25, 2023
