रास्वपामा सदस्यता थपिनेको हुल छ, नियन्त्रण गरेर अगाडि बढिराखेका छौँ : महामन्त्री ढकाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले आफ्नो पार्टीमा सदस्यता थपिनेको हुल लागेको दाबी गरेका छन् । उनले पार्टीको सदस्यताका लागि हुलमा आउने जत्था नै भएकाले त्यसलाई नियन्त्रण गरेर अगाडि बढेको बताए ।
रवि लामिछानेको नागरिकता विवाद पछि तपाईँहरूको पार्टीमा जनताको आकर्षण घट्यो भन्ने सुनिन्छ नि भन्ने प्रश्नमा उनले भने, ‘यो पछि त झन् सदस्यता थपिने लिने मान्छेको आकर्षण छ । त्यसमा हामीले शुल्क राखेका कारण भए दिइहालौँ न भन्ने भावना जो कोहीलाई आउन सक्दैन । अरूको जस्तो सहज रूपमा सदस्यता दिन सक्ने वातावरण छैन । हाम्रोमा पाँच वर्षको सदस्यता एकै पटक तिर्नुपर्ने भएकाले केही गाह्रो भएको होला । निम्न वर्गका मानिसहरू हुनुहुन्छ भने उहाँहरूलाई हामीले छुट पनि दिने गरेका छौँ । सदस्यताका लागि हुलमा आउने जत्था नै भएकाले हामीले अझ त्यसलाई नियन्त्रण गरेर अगाडि बढिराखेका छौँ । हामीले हुललाई व्यवस्था गर्ने सक्दैन र पार्टी छिन्नभिन्न हुन्छ भनेर नियन्त्रण गरिराखेका छौँ ।’
उनले आफ्नो पार्टीमा विभिन्न खालका मानिसहरू जोडिने भन्दै आर्थिक अवस्था कमजोर भएका मानिसका लागि पार्टीले निःशुल्क प्रवेश गर्ने सुविधा दिएको समेत बताए ।
‘हाम्रो पार्टीमा तीन चार पङ्क्ति आउन चाहेका छन् । एउटा पङ्क्ति अरू दलमा काम गरेको र असन्तुष्ट भएर आउने गरेका छन् । अरू दलमा अवसर नपाएर पनि आउनु भएको छ । विज्ञहरूको टोलीसमेत आउनु भएको छ । हामी जस्तै पङ्क्तिसमेत आउन चाहनु भएको छ । अर्का हामीसँग जोडिएको रवि लामिछानेसँग विभिन्न अभियानमा जोडिएको पङ्क्तिका हुनुहुन्छ । र त्यसपछि अन्य साना दलमा जोडिएका साथीहरू हुनुहुन्छ । हामीले सत्कर्म र सद्बुद्धि भएर बसेका मानिसहरू जोडेका छौँ । यसलाई हामीले मेकानिजम बनाएर कन्ट्रोल गर्ने खोजिरहेका छौँ ।’
उनले थपे, ‘हाम्रो कुरामा गरिब मान्छे जोडिन्छ भने उसलाई सबै छुट छ । पार्टी सदस्यता शुल्क समेत लिने गरेको छैन । तर त्यो भन्दै गर्दा अति राजनीतिकरण भएका कारण ‘जान्नेलाई छान्ने’ नारा अन्तर्गत सफल व्यक्ति नै आउनुपर्छ भनेर मान्यता रहेको कारण गरिब आउन नपाउने धनी आउन पाउने भन्ने होइन । एउटा सफल किसान आओस् । एउटा मजदुर आओस् । हाम्रो पार्टी त्यस्तो हो । धनी पुँजीपति वर्ग आएर हाम्रो पार्टी कब्जा नगरोस् भन्नेमा सचेत छौँ । उहाँहरूलाई हामीले रोक्न त मिल्दैन नेपालको कानुनले दिँदैन । मजदुर, किसान, इन्जिनियर, डाक्टर आओस् त्यसले किसानको लागि काम गर्ने मजदुरको लागि काम गर्ने गरिब निमुखाको लागि काम गर्नुपर्छ । हामी सफल व्यक्तिको खोजीमा छौँ ।’








