विश्व क्षयरोग दिवस : बागलुङमा बर्सेनि थपिन्छन् क्षयरोगका बिरामी

बलेवा । बागलुङमा हरेक वर्ष क्षयरोगी बिरामी बढ्दै गएका छन् । पछिल्लो तीन वर्ष तथ्याङ्कअनुसार बागलुङमा क्षयरोगको सङ्क्रमण फैलिँदो अवस्था देखिएको हो ।

आर्थिक वर्ष २०७७-७८ जिल्लाभर एक सय ६६ जना क्षयरोगका बिरामी थिए । यो सङ्ख्या बढेर २०७८/७९ मा एक सय ८५ मा पुगेको थियो । चालु आर्थिक वर्षको आठ महिनामा मात्रै जिल्लाभर एक सय २९ जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए । अघिल्लो वर्ष पहिचान भएकामध्ये केही नियमित औषधि सेवनपछि निको भएका छन् ।

अघिल्लो आर्थिक वर्षमा जिल्लाभर क्षयरोगीको सङ्ख्या एक सय ८५ थियो । तीमध्ये ५६ जना बडिगाडका थिए । साउनयता विभिन्न तहबाट गरिएको परीक्षण तथा पहिचानका क्रममा जिल्लाभर ८७ जना नयाँ सङ्क्रमित पहिचान हुँदा बडिगाडमा मात्रै ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

बडिगाड गाउँपालिकामा हरेक वर्ष जनचेतना मुलुक कार्यक्रम, खोजपडताल र नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दासमेत सङ्क्रमण रोकथाम गर्न कठिन भएको घिमिरेले बताए ।

‘पालिकाको तथ्याङ्क केलाउँदा अन्यत्रको सङ्ख्या घटेको छ तर बडिगाडमा भने बढ्दो छ’, घिमिरेले भने, ‘बिरामीको मृत्युदरसमेत बडिगाडमा बढी छ । गत आर्थिक वर्षमा जिल्लाभर छ जना क्षयरोगका बिरामीको मृत्यु हुँदा बडिगाडका चारजना थिए । जिल्लाभरि क्षयारोगको सङ्क्रमणबाट चार प्रतिशत सङ्क्रमितको मृत्यु हुने गरेको छ ।’ क्षयरोगको मृत्युदर कहालिलाग्दो अवस्थामा रहेको घिमिरेले बताउछन् ।

बागलुङमा बिरामीमार्फत नै क्षयरोगसम्बन्धी जनचेतना सन्देशहरू प्रवाह गर्नेसमेत गरिएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालयले गरेको नमूना परीक्षणमा बडिगाडमा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो भेटिएपछि गाउँपालिकाले सक्रिय खोजपडताल विधिद्वारा बिरामी पहिचान थालेको थियो ।

बिरामीको आधिकारिक तथ्याङ्क सङ्कलनका लागि पालिकाले सञ्चालन गरेको क्षयरोगी पहिचान कार्यक्रमअन्तर्गत आठजना बिरामी फेला परेका थिए ।

‘हामीले खोजी गर्दा भेटिने बिरामीभन्दा धेरै सदरमुकामको अस्पताल र केही जिल्ला बाहिरका अस्पतालमा पहिचान भएका छन्’, घिमिरेले भने, ‘जिल्लाका अन्य पालिकाहरुसमेत ढुक्कले बस्ने अवस्था छैन ।’ सरुवा रोग भएकाले क्षयरोगबाट बच्न धेरै व्यवहारमा सजग हुनुपर्ने उनको भनाइ छ ।

फोक्सोको क्षयरोगीले वर्षमा १०-१२ जनामा रोग सार्न सक्छन् । बडिगाडका–२, ४, ५ र ६ मा फोक्सोकै क्षयरोगी धेरै भेटिएकाले खोजपडताललाई सक्रिय बनाउनुपरेको स्वास्थ्य शाखाले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा नियमित औषधि खुवाउन थालिएको छ । ‘श्वासप्रश्वासको माध्यमबाट फैलिने भएकाले हामीले बिरामीलाई सजग रहन र नियमित औषधि सेवन गर्न लगाएका छौँ’, घिमिरेले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *