कक्षा २ मा पढ्ने बालिकामाथि दुष्कर्म : पीडित परिवारलाई प्रलोभनसँगै गाली

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयको कक्षा २ मा अध्ययनरत बालिकासँग दुष्कर्म गर्ने शिक्षकको परिवारले पीडित परिवारलाई प्रलोभन दिनुका साथै गालीगलौज समेत दिन थालेको छ ।

पीडितकी आमाका अनुसार आफ्नी ११ वर्षीया छोरीसँग दुष्कर्म गर्ने शिक्षकका पत्नीले गालीगलौज र बुवाले प्रलोभन दिन थालेपछि तनाव भएको बताएकी छन् । गत मंगलबार सनराइज बोर्डिङ स्कुलमा अध्ययनरत ती बालिकालाई शिक्षक जितेन्द्र यादवले शौचालयमा लगी जर्वजस्ती करणी गरेका थिए । पीडितकी आमाका अनुसार मंगलबार छोरी घर आएपछि रुन थालेको र आफूले सोध्दा घट्नाबारे जानकारी गराएको बताइन् ।

‘यसपछि मैले यसबारे बुझ्न खोज्दा शिक्षककी पत्नीले उल्टै गालीगलौज गर्न थालेकी थिइन्,’ उनी भन्छिन्, ‘मेरो श्रीमानलाई फसाउन खोजेका छौ भन्दै उल्टै गालीमा उत्रिएकी थिइन् ।’

घटना भएकै दिन विद्यालयका प्रिन्सिपल हरि श्रेष्ठ घरमा आएर छोरीलाई विद्यालय नपठाउन दबाब दिएको उनको भनाइ छ ।

‘यो भनेर हरि सर जानुभयो, घटनाबारे केही भन्नु नै भएन,’ उनी भन्छिन् ।

घटना बाहिरिएपछि इलाका प्रहरी कार्यालय सबैलामा आफूलाई बोलाएको बताउँदै उनी भन्छिन्, ‘म गएर सबै जानकारी गराएँ । यसपछि प्रहरीले छोरीलाई पनि लिएर आउन भन्दा त्यो पनि गरेँ ।’

जानकारी गराएपछि प्रहरीकै भनाई अनुसार छोरीलाई जनकपुर लगेर स्वास्थ्य जाँच समेत गराइएको छ । यो बोर्डिङ स्कुल इलाका प्रहरी कार्यालय सबैलाको पछाडि नै छ । प्रहरीले हालसम्म पनि आरोपितलाई पक्राउ गरेको छैन ।

प्रहरीले कारबाही प्रक्रिया अगाडि नबढाउँदा आरोपीका परिवारले घटना मिलाउन प्रलोभन समेत दिन थालेका छन् । आरोपीका बुवा सिठू यादव जे चाहिन्छ त्यो दिन्छु भन्दै यो घट्नालाई अगाडि बढ्न नदिन दबाब दिइरहेको उनी बताउँछिन् ।

‘तर म मान्ने बाला छैन’ उनी भन्छिन्, ‘आज मेरो छोरीसँग यस्तो भएको छ, भोलि अर्कैसँग पनि होला ।’

बालिकाका पिता विदेशमा छन् । दुई दाजुभाइ र आमासँगै बालिका घरमा बस्दै आएकी छन् ।

पीडितकी आमा भन्छिन्, ‘मेरो छोरीले न्याय नपाए, कसरी बाँच्नु ?’ उनले न्याय दिलाइदिन सबैसँग आग्रह गरेकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *