दोस्रोपटक विश्वासको मत लिँदै मुख्यमन्त्री जम्मकट्टेल

काठमाडाैँ । बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सभामा विश्वासको मत लिँदैछन् । आज दिउँसो ३ बजे हेटौंडा स्थित प्रदेश सभा भवनमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विश्वासको मत लिने कार्यका लागि सबै तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) को समर्थनमा २५ पुसमा बागमती प्रदेशको चौंथो मुख्यमन्त्री बनेका उनले दोस्रो पटक प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् । यसअघि उनले गत ३ माघमा विश्वासको मत पाएका थिए ।

केन्द्र सरकारमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिदाँ प्रदेश सरकारमा पनि राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागका हुन् । १३ फागुनमा राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १८८ को उपधारा (२) तथा बागमती प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम बुधबार प्रदेश सभामा विश्वासको मत लिन लागेका हुन् ।

यसैबीच, प्रदेश सरकारमा रहेको एमालेले विश्वासको मत दिने कि नदिने या प्रदेश सरकार छोड्दै सरकारलाई दिएको समर्थन लिने बारे निर्णय गर्न आजै बैठक बस्ने तयारी गरेको छ । स्रोतका अनुसार एमालेले आजै प्रदेश सरकार छोड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

यता, प्रदेश सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेसले पनि विश्वासको मत दिने कि नदिने बारे निर्णय गर्ने तयारी गरेको छ । स्रोतका अनुसार कांग्रेसले सरकार आलोपालो चलाउने सहमति पछि मात्रै विश्वासको मत दिन सक्ने गरी निर्णय गर्ने तयारी गरेको छ । कांग्रेससँग ३७ प्रदेश सदस्य रहेको छ ।

तत्कालीन प्रदेश सरकारको गठनको क्रममा एमालेको समर्थनमा ७० प्रदेश सदस्यसहित नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका नेता जम्मकट्टेल मुख्यमन्त्री बनेका थिए । उनलाई एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ प्रदेश सदस्य गरी ७० जना प्रदेश सदस्यको समर्थन गरेका थिए ।

मुख्यमन्त्री जम्मकट्टेलले यसअघि ३ माघमा विश्वासको मत लिँदा ११० प्रदेश सदस्यीय रहेको प्रदेश सभामा १०५ मतसहित विश्वासको मत पाएका थिए । नेपाल मजदुर किसान पार्टीका ३ प्रदेश सदस्यले भने उनको विपक्षमा मत दिएका थिए । ११० प्रदेश सभा सदस्सीय रहेको प्रदेश सभामा विश्वासको मतको लागि ५६ मत आवश्यक पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *