धुर्मुस भन्छन्– क्रिकेट रंगशाला अलपत्र पर्दा मेरो परिवार पलपल मरिरहेछ (भिडिओ)

काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दा आफू र आफ्नो परिवार मानसिक रुपमा विचलित हुनु परेको बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो पोस्ट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । रंगशाला अलपत्र पार्न सरकारले भूमिका निर्वाह गरिरहेको र आफू र आफ्नो परिवारसामु आम नागरिकले अनेक आरोप लगाइरहँदा आफ्नो परिवार नै डिप्रेसिनमा पुगेको उनले बताएका छन् ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामै गएर उनले उक्त भिडिओ बनाउँदै यस्तो बताएका छन् ।

भिडिओ

भिडिओमा उनले भनेका छन्– ‘चितवनस्थित राजनीतिक दलहरू, विभिन्न सङ्घसंस्था, महानगरपालिकासहित यहाँहरूको सहयोगले हामी यहाँसम्म आइपुगेका हौँ । यहाँहरूले गरेको सहयोग कहिँ पनि कतै पनि खेर गएको छैन । जस्ताको तस्तै हामीले यहीँ खर्चेका हौँ । यो परियोजनामा हामी सहयोगी मात्र हौँ । यो राज्यको सम्पत्ति बनिरहेको हो । हामीले यहाँ आफ्नो व्यक्तिगत सम्पत्ति बनाएका होइनौँ । विगत दुई वर्षदेखि यो परियोजना किन अलपत्र अवस्थामा छ ? म मानसिक यातना भोगिरहेको छु, विगत डेढ वर्षदेखि । डिप्रेसनमा छु । यदि २ वर्ष अगाडि यसले निकास पाएको भए आज यहीँ हुन्थ्यो होला क्रिकेट खेल। भुईंमा बसीबसी, रुखमा झुन्डि झुन्डी ज्यानको जोखिम राखी राखी क्रिकेट खेल हेर्नुपर्ने अवस्था आउने थिएन होला । आफ्नो पौरखले बनेको प्यारापिटमा बसेर खेलको मज्जा लिने मात्र होइन । २०७४ सालमा नेपालले एक दिवसीय मान्यता प्राप्त गर्यो । चौतर्फी रुपमा क्रिकेट रंगशाला बनाउनु पर्छ भन्ने आवाज उठ्न थाले । त्यही आवाजमा सबैसँग सुझाव मागेर २०७५ माघ १६ गते राष्ट्रिय सभागृहमा विभिन्न विशिष्ट व्यक्तिहरूको साक्षीमा सम्झौता गरेर महानगरपालिकाले जग्गा उपलब्ध गराएर यो परियोजना अगाडि बढेको थियो । अपुग रकम राज्यले हाल्ने प्रतिबद्धता थियो । सरकारले उचित निकास दिनुको सट्टामा यो त धुर्मुसको रंगशाला भनेर भनेजस्ताे गरियाे । हामी लुकेर कहाँ बसेका हौँला । अहिले पनि रंगशाला रुँगेर बसेका छौँ । छोडेका छैनौँ ।’

उनले रङ्गशालाको निकासका लागि सिंहदरबारको ढोका ढोका डेढ वर्षसम्म चाहरेकाे बताए ।

उनले भनेका छन्– ‘कोरोना भाइरसको महामारीका कारण आर्थिक अभाव र आर्थिक सहयोग गर्ने वाचाहरू वाचामा मात्र सीमित भएका कारण अन्ततः यो राज्यकै सम्पत्ति बनेको भनेर भरतपुर महानगरपालिकासँगको सम्झौता अनुसार गत वर्ष पुस १ गते भरतपुर महानगरपालिकालाई स्वामित्व लिइदिन अनुरोध पत्र बुझायौँ । यति उधारो छ । यो तिरेर स्वामित्व लिइदिन भन्याैँ । महानगरले मूल्याङ्कन गर्ने भयो । तर, स्वामित्व लिने काम कतैबाट भएन । सरकारले यो परियोजना मेरो भनिदिएको भए अलपत्र अवस्थामा रहने थिएन । मेराे परिवार आज पलपल मरिरहेका छ । आज मेरो परिवार कुनचैँले कहाँ आत्मदाह गर्छ होला भन्ने पिर छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *