सरकारमा हाम्रो पार्टीको हिस्सेदारी मिलेपछि मात्र को-को पठाउँने निर्णय लिन्छौँ : झलनाथ खनाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष झलनाथ खनालले सरकारमा आफ्नो पार्टीले कसरी र कुन नीति सिद्धान्तका आधारमा सहभागिता हुने भन्ने विषयमा टुङ्गो लगाएपछि मात्र को-को जाने भन्नेबारे छलफल हुने बताएका छन् ।
आज बसेको नेकपा एसको सचिवालय बैठक पछि सञ्चार कर्मीसँग कुरा गर्दै नेता खनालले सरकारमा आफ्नो पार्टीको हिस्सादारी कति हुन्छ त्यो कुराको फाइनल गरेर मात्र अगाडि बढ्ने बताए ।
उनले भने, ‘सरकारमा कसरी जाने, के उद्देश्य नीतिमा जाने, हाम्रो पार्टीको के हिस्सेदारी हुन्छ भन्ने बारेमा छलफल गरेर मात्र सरकारमा जाने र पठाउने मान्छेको बारेमा निर्णय लिन्छौँ । त्यसको लागि अध्यक्षको नेतृत्वमा टिमले प्रधानमन्त्रीसँग कुरा गर्छ ।’
बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको छ । कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने छ ।








