आज दोस्रोपटक विश्वासको मत लिँदै प्रधानमन्त्री

प्रचण्डले पाउनेछन् पुस २६ कोभन्दा कम मत, विपक्षमा ३ दल (अंकगणितसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विश्वासको मत लिँदैछन् । गत पुस १० मा प्रधानमन्त्री हुँदा उनी तत्कालीन सात दलीय गठबन्धनमा थिए । उनलाई २६ पुसमा विश्वासको मत दिएको ७८ सिटको एमाले र १४ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरूले गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । राप्रपाले १३ फागुन तथा एमालेले १५ फागुनमा प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

१३ फागुनमा राष्ट्रपतिमा आफ्नो गठबन्धनबाट एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नसघाएर नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेपछि एमालेले समर्थनसमेत फिर्ता लिएर सरकार छोडेको थियो । उसो त २६ पुसबाट नै प्रचण्ड र एमालेमा फाटो आउन शुरु भएको थियो कारण २६ पुसमा दरो प्रतिपक्षमा बस्ला भनेर सोचेको नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिएको थियो । यो देखेर एमाले अध्यक्ष केपी शर्मा ओली खुसी भने थिएनन् ।

निर्वाचनअघिको ५ दलीय गठबन्धन तोडेर ९ पुसमा प्रचण्डले एमालेलाई साथ लिएर ७ दलीय गठबन्धन निर्माण गरेका प्रचण्डले दुई महिना नपुग्दै फेरि एमालेसहितका ६ दललाई धोका दिएर उनी १३ फागुनमा ८ दलीय गठबन्धन निर्माण गर्न पुगेका थिए । यो गठबन्धन राष्ट्रपतिको निर्वाचन फागुन २५ सम्म आइपुग्दा १० दलीय बनेको छ  । हाल दश दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरिरहेका छन् । यता राष्ट्रपतिमा कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् भने उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामशाहयप्रसाद यादव निर्वाचित छन् ।

क-कसले दिन्छन् प्रचण्डलाई दोस्रो पटक विश्वासको मत
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि संविधानअनुसार सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने कार्यसूची छ । प्रचण्डलाई गठबन्धनमा रहेका १० दलले विश्वासको मत दिने शनिबार नै सहमति गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति गरेका थिए ।

गठबन्धन भन्दा बाहिर रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विश्वासको मत दिने छ । हाल १९ सिटको रास्वपा १० दलीय गठबन्धनमा छैन । तर पनि उसले प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले विश्वासको मत दिने निर्णय गरेको रास्वपा उपसभापति डोलप्रसाद अर्याल डिपीले बताए । उनले मकालुखबरसँग भने, ‘पुस २६ गते पनि प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएका छैन । आज पनि विश्वासको मत दिन्छौँ ।’

विश्वासको मत नदिनेमा एमाले र राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)मात्र देखिएका छन् । प्रतिनिधि सभामा जम्मा २७५ जना संसद् छन् ।  ७८ सिटको एमाले, १४ सिटको राप्रपा र १ सिटको नेमोकिपाले प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । उनीहरू आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षको बेन्चमा बसेका थिए ।

राप्रपाले आफूलाई प्रचण्ड विश्वासको मत नै नमागेको बताएको छ । आइतबार मकालुखबरसँग कुरा गर्दै राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आफूहरूले समर्थन फिर्ता लिएकै कारण प्रधानमन्त्रीले विश्वासको मत लिनु परेको बताए । उनले भने, ‘प्रधानमन्त्रीले हामीलाई अहिलेसम्म विश्वासको मत माग्नु भएको छैन ।  नमागीकन विश्वासको मत दिने हामी कांग्रेस होइन ।’

पक्ष र विपक्षमा कति मत यस्तो छ अंकगणित ?
प्रतिनिधि सभामा प्रचण्डको पक्षमा झर्ने मतमा कांग्रेस ८७ सिट छ । ८९ जना संसद् रहेको कांग्रेसमा एकजना संसद् निलम्बित छन् भने रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उनले विश्वासको मत दिन पाउँदैनन् । कांग्रेस नेता चन्द्र भण्डारी बिरामी परेकाले उनी मत दिन आउँदैनन् यसो हुँदा कांग्रेसको ८६ मत हुन्छ ।

माओवादी केन्द्रको ३२ सिट छ तर माओवादी केन्द्रका नेता वर्षमान पुन बिरामी परेका कारण मत दिन सामेल हुने छैनन् । यसो गर्दा माओवादीको मत ३१ हुन्छ । यस्तै सभापति रवि लामिछानेको नागरिकता विवादले संसद् पद खारेज गरेपछि २० सिटको रास्वपा १९ सिटमा झरेको छ । जसपा १० सिट छ । १२ सिट रहेको जसपामा १ जना संसद्को मृत्यु भएको छ भने रामशाहयप्रसाद यादव उपराष्ट्रपति छन् उनले मत दिन पाउने छैनन् । यस्तै नेकपा  एकीकृत समाजवादीको १० सिट छ । जनमत पार्टीको  ६ सीट छ । लोसपाको  ४ सीट छ ।

नागरिक उन्मुक्ति पार्टीको ३, राष्ट्रिय जनमोर्चाको १, आम जनता पार्टीको १ , नेपाल समाजवादी पार्टीको १ भोट छ । यस्तै  स्वतन्त्र सांसद अमरेश सिंहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने छन् । यसरी हेर्दा आजको प्रतिनिधि सभा बैठकमा सत्ता गठबन्धनका सांसद सबै उपस्थित भए भने प्रचण्डको पक्षमा १७३ जनाले मतदान गर्ने देखिन्छ ।

उनको विपक्षमा एमालेका ७७ जना सांसदले मत दिने छन् । एक जना सांसद लक्ष्मी महत्तो कोइरी फरार छन् भने सभामुख देवराज घिमिरेले मत दिन पाउने छैनन् । सो कारण ७९ जना प्रतिनिधि सभामा विजयी भएकामा दुई मत कम झर्ने छ । राप्रपाको १४ र स्वतन्त्र सांसद योगेन्द्र मण्डल पनि प्रचण्डलाई विश्वासको मत नदिने बताएका छन् । र नेमकिपाका प्रोम सुवालले पनि दिने छैनन् ।  यो अङ्कगणित हेर्दा प्रचण्डको विपक्षमा ९३ मत पर्न सक्छ ।

प्रचण्डले २६ पुरमा २६८ सांसदको विश्वासको मत पाएका थिए । त्यो बेला संसद्मा उपस्थित २ जना सांसद मात्र प्रतिपक्षीको भूमिकामा थिए । नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमार्चाका चित्रबहादुर केसी प्रतिपक्षीको भूमिकामा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *