सांसद विनोद चौधरीको सचिवालयलाई बेलायती सांसदको प्रशिक्षण

काठमाडौं । बेलायती सांसद (हाउस अफ कमन्स) विरेन्द्र शर्माको सचिवालयका उच्च अधिकारीले नेपालका सांसद विनोद चौधरीको सचिवालयका अधिकारीहरूलाई संसदीय मामिलालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने बारेमा प्रशिक्षण दिएका छन् । आइतबार काठमाडौंको होटल भिभान्तामा सांसदको भूमिकालाई संसदमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा चौधरीको सचिवालयका अधिकारीहरूलाई प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा बेलायती सांसद शर्माले सांसदलाई प्रभावकारी बनाउने मुख्य जिम्मेवारी नै सचिवालयको हुने बताए। सचिवालय प्रभावकारी बने मात्र सांसदले आफ्नो भूमिका प्रभावकारी रुपमा वहन गर्न सक्ने उनले बताए।

कुनै पनि सांसदको सचिवालयले वहन गर्ने भूमिका वृहत्तर रुपमा देशका लागि हुने भएकाले सचिवालयका अधिकारीले पनि उत्तिकै जिम्मेवार भावनाका साथ काम गर्न आवस्यक रहेकोमा पनि उनले जोड दिए।

‘सांसद एक्लैले गरेर केहि हुँदैन । सांसदलाई सफल बनाउने भनेको उसको निजी सचिवालय कति प्रभावकारी र सक्षम छ भन्ने कुरामा निर्भर हुन्छ ।’ सांसद शर्माले भने, ‘बेलायती संसदमा रहेर काम गरिरहदा मेरो अनुभव पनि यहि हो । मेरो सचिवालय प्रभावकारी नरहेको भए म हाउस कमन्सको प्रभावकारी सांसद बन्न सम्भव थिएन ।’

बेलायती सांसद शर्माका सहयोगी डमिनिक मोफिटले कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य चौधरीको राजनीतिक सचिवालयलाई आफ्नो अनुभव सुनाए। बेलायतमा सांसदलाई सरकारबाट चार जना कर्मचारीको व्यवस्था हुने गरेको उनले बताए।

‘उनीहरुको जिम्मेवारी पनि तोकिएको हुन्छ। टीममा सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्छन्’ उनले भने, ‘काममा दोहोरोपन हुनुभएन । टीमवकर्ममा विश्वास हुनुपर्छ ।’

कांग्रेस सांसद चौधरीले निर्वाचन क्षेत्रका विषय सम्बोधनदेखि राष्ट्रिय मुद्धामा संसदमा प्रभावकारी रुपमा उठाउन राजनीतिक टीमको आवश्यकता औंल्याए । ‘हामीले निर्वाचन क्षेत्रका मुद्धाहरुमा पनि काम गर्नुपर्छ । त्यस्तै राष्ट्रिय विषय उठाउनुपर्छ। त्यसका लागि छुट्टै राजनीतिक सचिवालय स्थापना गरेका हौं,’ उनले भने । बेलायतका सांसदको राजनीतिक सचिवालयको अनुभवले आफूहरुलाई पनि लाभ हुने चौधरीको विश्वास थियो।

कांग्रेस सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्र नवलपरासी १ बर्दघाटमा जनसम्पर्क सचिवालय स्थापना गरेका छन् भने काठमाडौंमा राजनीतिक सचिवालय बनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =