१० दलीय गठबन्धनको बैठक : प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमति 

काठमाडौँ । सत्ता गठबन्धनका १० दलको बैठक सकिएको छ ।

बैठकमा सोमबार ६ चैतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन १० दल नै सहमत भएका  छन् ।

शनिबार बालुवाटारमा बसेको बैठकले यस्तो सहमति गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रमेश मल्लले बताए ।

उनले भने, ‘आज बसेको सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा सम्पन्न  भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायतको सहभागिता थियो ।

१० पुसमा प्रधानमन्त्री बनेका प्रचण्ड ६४ दिनमै अल्पमतमा परेको थिए । कारण २६ पुसमा विश्वासको मत दिएको ७८ सिटको एमाले र १४ सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी पार्टीले आफूहरूले गरेको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । १३ फागुनमा राष्ट्रपतिमा आफ्नो गठबन्धनबाट एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई नसघाएर नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरेपछि एमालेले समर्थनसमेत फिर्ता लिएर सरकार छोडेको हो । राप्रपाले पनि समर्थनसहित सरकार छोडेको छ भने नयाँ दलका रूपमा आएको रास्वपाले भने समर्थन कायम राख्दै सरकार छोडेका थिए ।

निर्वाचनअघिको ५ दलीय गठबन्धन तोडेर ९ पुसमा प्रचण्डले एमालेलाई साथ लिएर ७ दलीय गठबन्धन निर्माण गरेका थिए । त्यसको दुई महिना नपुग्दै फेरि एमालेसहितका ६ दललाई धोका दिएर उनी १३ फागुनमा ८ दलीय गठबन्धन निर्माण गर्न पुगे । २५ फागुनमा पुन दुई दल थपिएर हाल १० दलीय गठबन्धन बनेको छ ।

२६ पुसमा उनलाई २७५ सदस्यीय संसद्मा जम्मा दुई सांसदबाहेक अन्य सबैको समर्थन रहने गरी २६८ सांसदको विश्वासको मत दिएका थिए ।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *