रामसहायलाई उपराष्ट्रपति बनाएका उपेन्द्रको पूरा होला सांसद बन्ने योजना ? 

गठबन्धनको सहयोग रहने विश्लेषण

काठमाडौँ । सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले पराजित गरेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई नराम्ररी झड्का लाग्यो । झड्का यसकारण लाग्यो कि, उनी २०६४ यता प्रत्येक पटक-पटक संसदमा उनको उपस्थिति रह्यो । तर, यस पटक उनको नियमित जितमा क्रमभंगता आयो । पराजयले उनलाई संसद प्रवेशको ढोका बन्द गरिदियो ।

आफ्नो क्षेत्रमा सीके राउत हाबी भएपछि उनी एक हिसाबले निस्तेज जस्ता देखिए । मधेस आन्दोलनबाट उनले प्राप्त गरेको जनसमर्थनको तेज जनमत पार्टीले नै निस्तेज पारिदियो । हुन त जितकै लागि उनले निर्वाचनअघि ५ दलीय गठबन्धनमा गठजोड गर्दै कांग्रेस, माओवादी र नेकपा एसको फेरो समातेका थिए । तर, सीकेको जनमतसँग उनको तेज कायम रहन सकेन । उनलाई सीकेले दोब्बर बढी मतले हराइदिए । उक्त निर्वाचनमा सीके राउतले ३५ हजार ४२ मत पाएका थिए भने यादवले जम्मा १६ हजार ९७९ मत पाएका थिए ।

पराजयपछि पनि उनले संसद छिर्ने जुक्ति खोज्न छाडेनन् । पार्टीलाई सत्तामा लान र आफू सांसदमा जान छिद्र खोज्दै गरेका यादव निर्वाचनअघिको ५ दलीय गठबन्धनलाई भत्काउँदै प्रधानमन्त्री बन्न प्रचण्डले खडा गरेको एमालेसहितको ७ दलीय गठबन्धनमा पनि १० पुसमा सामेल भए ।

फेरि ७ दलीय सत्ता गठजोठ भत्काउँदै प्रचण्डले १२ फागुनमा निर्माण गरेको अर्को ८ दलीय गठबन्धनमा पनि उनी सामेल भए । यो गठबन्धनमा भने उनले आफू संसद छिर्न पाउने सम्भावना देख्न थाले ।उपराष्ट्रपतिमा आफ्नो पार्टीलाई भाग माग्न थाले । बल्लतल्ल एमालेलाई पाखा लाएर नयाँ सत्ता गठबन्धन निर्माण गर्न सकेकोमा आफूलाई धन्य ठानिरहेका कांग्रेस–माओवादीले गठबन्धन जोगाउनै पनि जसपालाई रिझाउन थाल्यो । उपेन्द्रकै माग अनुसार उपराष्ट्रपति जसपालाई दिन राजी भयो । त्यसपछि, जसपाले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवलाई उम्मेदवारको रूपमा अघि सार्‍यो ।

जसपाले उपराष्ट्रपतिमा रामसहायलाई नै किन अघि सार्‍यो त ? यसका थुप्रै कारण छन् । पहिलो कारण भनेको पार्टी अध्यक्ष भएर सक्रिय राजनीतिमा रहेका उपेन्द्र यादवले पार्टीको कमान्ड सम्हाल्न पार्टी राजनीतिमै रहनु पर्ने बाध्यता हो । अर्को– रामसहायलाई उपराष्ट्रपति बनाउन सके उनको सांसद पद रिक्त हुने छ । बारा–२ मा उपनिर्वाचन हुने छ । र, त्यो उपनिर्वाचनमा उम्मेदवार बन्दा सजिलै जितिन्छ र संसदको ढोका फेरि खुल्ने छ भन्ने उपेन्द्रको विश्लेषण ।

जसपाकै एक नेताले मकालुखबरसँग भनेका छन्, ‘बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीले पार्टी अध्यक्षलाई नै उठाउने हाम्रो तयारी छ । अब केही दिनमा यसको फाइनल हुन्छ ।’

बारा–२ बाट उपनिर्वाचन लड्दा जित्छु भन्ने आत्मविश्वास उपेन्द्रमा कसरी आयो त ? त्यसको पनि कारण छ । रामसहाय यादवकै कारण बारा–२ मा रामसहायप्रसाद यादवको जनमत बलियो छ । त्यसमाथि मधेसमा खासगरी यादव समुदायका मतदाताले निर्वातमा पाएसम्म जुनसुकै पार्टीको होस्, यादवलाई नै मत हाल्ने गर्छन् । यादव मतदाता बढी रहेको यो क्षेत्रबाट उपनिर्वाचनमा उम्मेदवार बन्न पाए सजिलै जित्छु भन्ने आत्मविश्वास उपेन्द्रमा रहेको छ । त्यसमाथि सत्ता गठबन्धनमा सामेल भएका उनलाई गठबन्धनको सहयोग रहेन विश्लेषण पनि छ । त्यसो हुँदा ढुक्क भएर उपेन्द्र बारा २ बाट चुनाव लड्न चाहेका हुन् ।

४ मंसिरकै निर्वाचनको परिणामलाई हेर्ने हो भने पनि यो विश्लेषण सहज रूपमा गर्न सकिन्छ । उक्त निर्वाचनमा रामसहायप्रसाद यादवले माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहलाई हराएर प्रतिनिधिसभामा विजयी भएका थिए ।

यी सबै तथ्य तथ्यांकलाई केलाउने हो भने उपेन्द्रले जस्तै हरकोहीले बारा–२ को उपनिर्वाचनमा उपेन्द्रको जित निश्चित जस्तै देख्न सक्छन् । यद्यपि, भविष्य कसले देखेको छ र ?

उपनिर्वाचन हुने बेला परिस्थिति उपेन्द्रको प्रतिकुल पो बन्ने हो कि । अथवा त्यहाँका मतदाताले नामको पछाडि लाग्ने थरलाई नहेरी गुण र दोषका आधारमा तुलना गर्दै उपयुक्त उम्मेदवारलाई पनि रोज्ने हुन् कि ?

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *