गठबन्धनको साझा उम्मेदवार रामसहाय यादव होइनन् : ममता झा

काठमाडौँ । जनमत पार्टीकी सांसद तथा उपराष्ट्रपति पदकी उम्मेदवार ममता झाले दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको प्रतिक्रिया दिएकी छिन् ।
शुक्रबार उपराष्ट्रपति पदका लागि जारी मतदानका क्रममा संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले गठबन्धनबाट अहिले तीन जना उम्मेदवार रहेको बताइन् ।
झाले भन्छिन्, देशको कानुन सबैभन्दा ठुलो हो, त्यसैले राष्ट्र र कानुनलाई नै टेकेर म हिँड्नेछु । यो महिलाहरूको हक अधिकारको कुरा पनि हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ ।
साथै उनले भनिन्, हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी मैले पाएकी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको मैले सुनेकी छैन ।’
त्यस्तै उनले राष्ट्रपति पुरुष भइसकेकाले महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै ममताले समावेशीमा ठुला दलहरूले ध्यान दिनुपर्ने समेत बताइन् ।








