आम सञ्चार ऐन बनाउन विज्ञ सरोकारवालासँग छलफल भइरहेको छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अनलाइन मिडियाले विश्वसनीय विषयवस्तु सम्प्रेषण गर्नुपर्ने बताएका छन् । ‘नारी नेपाल अनलाइन पत्रिका’को आज उद्घाटन गर्दै उनले अनलाइन मिडियाको विकास व्यापकरुपमा भइरहेको उल्लेख गर्दै सत्यतथ्य, निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणमा ध्यान दिन आग्रह गरिन् ।

मन्त्री शर्माले सञ्चारमाध्यमले मानव जीवनका सामाजिक क्षेत्र तथा समाजलाई आशावादी बनाउने गरी विषयवस्तु सम्प्रेषण गर्नुपर्नेमा जोड दिइन् । उनले पछिल्लो समय अनलाइन मिडियाको तीव्ररुपमा विकास भइरहेको र यसबाट सम्प्रेषण हुने विषयवस्तुमाथि विभिन्न टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै अनलाइनलाई व्यवस्थित र पारदर्शी ढङ्गले सञ्चालन गरिनुपर्ने बताइन् ।
उनले भनिन, ‘अनलाइन मिडियाबीचमा पनि राम्रो गर्ने र नराम्रो गर्ने को हुन्, यो अनलाइनमा लेखेको कुराको विश्वास हुँदैन भनेर सबै अनलाइनलाई एउटै डालोमा हाल्दिने कुरा भइरहेको छ, जुन बेठीक छ’ , ‘त्यसैले सबै मिडियालाई नियमन गर्ने, कानुन बनाउने र तिनको प्रवद्र्धन गर्नुपर्छ । पछिल्लो समय अनलाइन मिडियाको जुन ढङ्गले विकास भइरहेको छ, यसमा राज्यले ध्यान दिन जरुरी छ । अनलाइन मिडिया सम्बन्धि कानुन बनाउने क्रममा छौँ ।’
मन्त्री शर्माले आम सञ्चार ऐन बनाउने क्रममा विज्ञ सरोकारवालासँग छलफल गरिरहेको उल्लेख गर्दै आमसञ्चार ऐन महिलामैत्री बनाउन पहल गर्ने बताइन् ।








