नदीजन्य सामग्री सप्लाई गर्न ठेकेदारले थुने त्रिशूली नदी, पालिकाले रोकिदियो ठेक्का

पोखरा । गोरखाको शहीद लखन गाउँपालिकाले निर्माण सामग्री उत्खननका लागि ठेक्का लगाएको त्रिशूलीमा ठेकेदारले नदी थुनेर सामग्री सप्लाई गरेका छन् । ढुंगा, गिटी, बालुवालाई नदीबाट तार्नका लागि ठेवाटारस्थित त्रिशूली थुनेर बाटो बनाएका हुन् । शहीद लखनले सिन्धुपाल्चोकको त्रियुग निर्माण सेवालाई सामग्री उत्खननको लागि ठेक्कामा दिएको हो ।

उक्त कम्पनीले सम्झौता विपरीत नदी थुनेर बाटो बनाएपछि चौतर्फी आलोचना भएको छ । गोरखातिरको सामग्री चितवन तर्फ लैजानका लागि केही मिटरमात्रै नदी बग्ने ठाउँ छोडेर ग्याविन जालीले बहाव थुनिएको हो । शहीद लखनले सामग्री सप्लाईका लागि सहजीकरण गरिदिन चितवनको इच्छाकामना गाउँपालिकालाई आग्रह गरेको थियो । सोही अनुसार स्वरूप नबिग्रिने गरी काम गर्न इच्छाकामनाले सहमति दिएको थियो ।

तर दुवै पालिकाको सहमति बेगर ठेकेदारले नदी थुनेका हुन् । नदी थुनिदिँदा अहिले त्रिशूलीमा हुँदै आएको -याफ्टिङमा समेत समस्या भएको व्यवसायीहरूको गुनासो छ । आलोचनापछि शहिद लखन गाउँपालिकाले तत्कालका लागि निर्माण सामग्री उत्खननको काम रोक्न ठेकेदारलाई निर्देशन दिएको छ ।

अध्यक्ष रमेशबाबु थापा मगरले ठेकेदारलाई सामग्री नउठाउन निर्देशन दिएको बताए । ‘सबैको चासोले हाम्रो ध्यानाकर्षण भएको छ । तत्कालका लागि सामग्री नउठाउन निर्देशन दिएका छौँ,’ उनले मकालुखबरसँग भने, ‘अब पालिकाको प्राविधिक टोली समेतले स्थलगत अध्ययन गरेर मात्रै उपयुक्त देखिए काम अघि बढ्छ । अन्यथा ठेक्का नै तोड्नुपर्ने अवस्था आउन सक्छ ।’

उनले वातावरण बिगारेर आम्दानीको पछि पालिका नलाग्ने बताए । ‘हामी वातावरण नै ध्वस्त बनाएर सामग्री बेच्दैनौँ । सामग्री उत्खननको ठेक्का मात्रै पालिकाले लगाएको हो । कहाँबाट लैजाने भन्ने उसैको सरोकारको विषय हो,’ उनी भन्छन्, ‘तर नदी नै थुनेको देखिएपछि हामी चुप रहन सकेनौँ । अहिले काम रोक्नु भनेर निर्देशन दिएका छौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *