पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्छ : मन्त्री किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफूले गरेको फोहर आफैँ सफा गर्ने बानीको विकास हुनुपर्ने बताएका छन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा आजदेखि सुरु गरिएको तीनमहिने बृहत् सरसफाइ अभियानको सुभारम्भ गर्नुहुँदै मन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएकाले आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर परिसरलाई सबै मिलेर सफा राख्नुपर्ने बताए ।

उनले भने, ‘नेपालमा ठूलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको छ, यसलाई भत्काएर अघि बढ्नुपर्छ, काम गर्दा कोही सानो हुँदैन ।’

उनले पशुपतिनाथ क्षेत्र सरसफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर मन्त्रालयमा बुझाउनसमेत निर्देशन दिए । पछिल्लो समय सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको पाइएकाले समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने उनको भनाइ थियो ।

आफ्नो मन्त्रालयअन्तर्गतका सबै निकायलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सोअनुसारको काम नभए कारबाही गर्ने समेत मन्त्री किराँतीले चेतावनी दिए ।

अबको तीन महिनासम्म हरेक शनिबार बिहान ८ देखि १० बजेसम्म मन्त्रालय र त्यसमातहतका २१ वटा निकायका कर्मचारीले दुई घण्टा पशुतिनाथ क्षेत्रमा सरसफाइ गर्ने कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

 बृहत् सरसफाइ अभियानको सुरुआत

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आजदेखि पशुपतिनाथ मन्दिर क्षेत्रमा बृहत् सरसफाइ अभियानको सुरुआत गर्नुभएको छ । अभियान तीन महिनासम्म जारी रहने मन्त्री किराँतीले जानकारी दिए ।

पशुपति क्षेत्र विकास कोषले मात्रै नियमित सफाइ गर्न नसकेपछि मन्त्रालयको निर्देशनमा हरेक शनिबार दुई घण्टा कर्मचारीले सरसफाइ गर्ने निर्देशनानुसार आजबाट बृहत् सरसफाइ गरिन लागिएको हो । मन्त्रालयले सचिवस्तरीय निर्णयबाट सबै निकायलाई सरसफाइमा सहभागिताका लागि निर्देशनसमेत दिएको छ ।

आजको सरसफाइ अभियानमा पर्यटन विभाग, पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय, भाषा आयोग, प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, ललितकला प्रज्ञा प्रतिष्ठान, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम र सांस्कृतिक संस्थानका पदाधिकारी र कर्मचारीको सहभागिता थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =