बालुवाटार बैठकले जुटाउन सकेन उपराष्ट्रपतिको उम्मेदवारमा सहमति

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको उपराष्ट्रपतिबारे ठोस निर्णय नगरेर सकिएको छ । प्रभु साह नेतृत्वको आम जनता पार्टीसहित सहभागी बैठकले उपराष्ट्रपतिको उम्मेदवार टुङ्ग्याउन नसकेको हो ।
बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । सहमति नजुटेपछि जनमत पार्टी र जसपाले छुट्टाछुट्टै उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने उनको भनाई छ ।
उनकाअनुसार निर्वाचन आयोगले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्ने निर्णय गरेपछि महिला नै उठाउनेबारे छलफल भएको छ । ‘यसमा रिस्क नलिने दलहरुबीच कुरा भएको हो । किनभने आयोगले संविधानको धारा ३८ ९४०लाई कोट नै गरेको छ,’ अध्यक्ष राउतले भने, ‘जसमा महिलालाई पनि समावेशी समानुपातिक गर्नुपर्ने भनेको छ । त्यही भएर राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला नै बनाउने जिम्मेवारी हुन्छ ।’
जनमत पार्टीले ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको उनले बताए । जसपाले पुरुष र महिला गरी दुई जनाको आज उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आज तीन जनाको उम्मेदवारी परेपनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुंगो लाग्ने अध्यक्ष राउतको भनाई छ ।








