सिके राउतको खुलासा- १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन उम्मेदवार हुने देखियो

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलको सकिएको हो ।
बैठकले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने विषयमा सहमति गरेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए । उनकाअनुसार कुन पार्टीबाट कसलाई उम्मेदवार बनाउने बन्नेबारे भने सहमति जुट्न सकेन । सम्भवतः १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन उम्मेदवार हुने देखिएको उनको भनाई छ ।
जनमत पार्टी, जनता समाजवादी र नागरिक उन्मुक्ति पार्टीले उपराष्ट्रपतिमा उम्मेदवार उठाउने अडान लिएको अध्यक्ष राउतले बताए । ‘हामीले ममता झालाई अघि सार्ने कुरा राखौँ, जसपा र नाउपाले पनि उम्मेदवार उठाउने अडान लिएका छन्,’ बैठकपछि उनले भने, ‘निर्वाचन आयोगको निर्णयअनुसार महिला उठाउने कुरामा सहमति भएपनि कसलाई उठाउने भन्नेमा कुरा मिलेन । सम्भवतः १० दलीय गठबन्धनबाट उपराष्ट्रपतिमा तीन उम्मेदवार हुने देखियो ।’
बैठकमा प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि सहभागी थियो । आज तीन जनाको उम्मेदवारी परेपनि भोलि फेरि शीर्ष नेताबीच हुने छलफलले अन्तिम टुंगो लाग्ने अध्यक्ष राउतको भनाई छ ।








