उपराष्ट्रपतिको मनोनयन दर्ता आज, दलहरू उम्मेदवारबारे अझै अलमलमा 

काठमाडौँ । आउँदो चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिने जानकारी दिएको छ ।

उपराष्ट्रपति पदमा उम्मेदवारी दिने व्यक्ति वंशजका आधारमा नेपाली नागरिक भएको, कम्तीमा ४५ वर्ष उमेर पूरा भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, कुनै सङ्घीय कानुनले अयोग्य नभएको तथा कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्छ ।

उम्मेदवारी दिनेले पाँच जना समर्थक र पाँच जना प्रस्तावक जुटाउनु पर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनअनुसार प्रस्तावक र समर्थक सो पदका लागि निर्वाचन आयोगले प्रकाशन गरेको ८८२ जनाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ ।

दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

मनोनयन र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले आज निर्देशन दिइसकेको छ । आयोगको यो निर्णयले दलहरू अन्योलमा परेका छन् ।

आजै उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि दलहरू छलफलमा जुटेका छन् । उपराष्ट्रपति निर्वाचनबारे छलफल गर्न र उम्मेदवारको टुङ्गो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । सत्ता गठबन्धनका दलहरू पनि बिहानैदेखि छलफलमा जुट्ने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =