राष्ट्रपतिमा निर्वाचित भएपछि शीर्ष नेतालाई धन्यवाद दिन निवासमै पुगे पौडेल

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीर्ष तीन नेतालाई निवासमै पुगेर भेट गरेका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बिहीबार साँझ भेट गरेका हुन्।
आज राष्ट्रपतिमा निर्वाचित भएपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दाहालसँग भेट गरेका हुन्। भेटका क्रममा राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहाललाई धन्यवाद व्यक्त गरे। यस्तै प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यसैगरी राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसँग भेट गरेका छन्। राष्ट्रपति पौडेलले देउवा निवास धुम्बाराही र नेपाल निवास कोटेश्वर पुगेर भेट गरेका हुन्।
कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलगायत नौ दलको समर्थनमा पौडेल आज राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
आज सम्पन्न राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपति पौडेलले ३३ हजार आठ सय दुई र प्रतिस्पर्धी सुवासचन्द्र नेम्वाङले १५ हजार पाँच सय १८ मत प्राप्त गरेका थिए। रासस








