राप्रपा र नेमकिपाप्रति लक्षित गर्दै नेम्बाङले भने : ‘राष्ट्रपति निर्वाचनमा भाग नलिनु ठिक भएन’

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष एवम् राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङले संसदीय व्यवस्थामा सहभागी भएर राष्ट्रपति निर्वाचनमा भाग नलिनु गलत भएको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले राष्ट्रपतिमा भोट नहाल्ने निर्णय गरेपछि उनले यस्तो प्रतिकृर्या दिएका हुन् । यसअघि एमालेसहितको गठबन्धन सरकारमा सामेल भएको राप्रपाले सभामुखसहित अन्य पदहरूमा एमाले उम्मेदवारलाई मत दिएको थियो । तर नेमकिपाले भने दिएको छैन ।
राष्ट्रपतिमा पनि राप्रपाले एमालेलाई मत दिने आकलन थियो । तर राप्रपाले बुधबार मात्रै राष्ट्रपति निर्वाचनमा मतदान नै नगर्ने निर्णय लिएको छ ।
बिहीबार संसद् भवनमा राष्ट्रपतिको निर्वाचन चलिरहेका बेला राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राप्रपाको मतदान नै नगर्ने निर्णय लिएर गलत गरेको बताए । ‘उहाँहरूको निर्णय जे सुकै भएपनि म त्यसलाई सम्मान गर्छु । तर, यो अलिक ठिक भएन भन्ने मलाई लागेको छ,’ उनले भने, ‘मैले त उहाँहरूको कार्यालयमै पुगेर सुझाव दिएका थिएँ । तपाईँहरू यही प्रक्रियामा अगाडि बढ्नुहोस् । यो प्रक्रियामा भाग लिएरै जनताको बीचमा जान सकिन्छ भनेर सुझाव दिएको थिएँ ।’








