प्रचण्डविरुद्ध सर्वोच्चको आदेशप्रति ९ दलको एकै स्वर – अविलम्ब कानून बनाएर टुंग्याउँछौं

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने सर्वोच्चको आदेशप्रति ९ दलले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

आइतबार बसेको ९ दलको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन आफूहरु प्रतिवद्ध रहेको बैठकपछि संयुक्त विज्ञप्ति जारी गर्दै  जनाएका छन्।

विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ,नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनमतका उपाध्यक्ष मो. अब्दुल खानले हस्ताक्षर गरेका छन्।

‘केहि दिन यता जनताको त्याग र बलिदानबाट प्राप्त संविधान र लोकतान्त्रिक गणतन्त्रको मर्म एवम् भावना विपरित भइरहेका केही क्रियाकलापतर्फ हाम्रो ध्यान गम्भीर रुपले आकृष्ट भएको छ। संविधानले नचिनेका, नदेखेका तथाकथित पदका नाममा गरिने संविधानविपरितका गतिविधि र तिनलाई सहयोग गर्ने क्रियाकलापहरु लोकतन्त्र विरोधी अवान्छित हुन भन्ने विषयमा हामी एकमत छौं। संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एकजुट भई अगाडि बढ्ने दृढता व्यक्त गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

शान्ति प्रक्रियाका बाँकी कामलाई विस्तृत शान्ति सम्झौता र संविधानको भावना अनुरुप तार्किक निस्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको ९ दलले बताएका छन्।

विगतमा सम्बन्धित विषयमा कानून निर्माण र आयोग गठन गरी केही काम सम्पन्न भएको समेत स्मरण गराएका छन्।

‘बाँकी काम अविलम्ब पूरा गरिनेछ। द्धन्द्धकालिन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनमा प्रस्तुत गरिने छ’, ९ दलको विज्ञप्तिमा उल्लेख छ।

कानून निर्माण र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन सम्बन्धि आयोग गठन गर्ने ९ दलले जनाएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =