प्रचण्डको निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन माओवादी तयार

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेर जान निर्देशन दिएपछि मत दिने भएको हो ।

प्रचण्डले सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सिद्ध गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख बाहेक १०, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र १ जना स्वतन्त्र सांसद छन् ।

माओवादी केन्द्रले भने औपचारिक निर्णय गरिसकेको छैन । पार्टीको केन्द्रीय तहबाट ‘मिलेर जानू’ भन्ने सर्कुलर आएपछि संसदीय दलको बैठक बस्ने तयारी भएको माओवादी केन्द्रका नेताहरूले जानकारी दिएका छन् । विश्वासको मतका सन्दर्भमा संसदीय दलको बैठकले औपचारिक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *