राष्ट्रपतिको प्रस्ताव अस्वीकार गरेकै हौँ – माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक स्थायित्वका लागि आफूले राष्ट्रपति पदको प्रस्तावलाई अस्वीकार गरेको बताएका छन्।
पार्टीको दलित मुक्ति सङ्गठनको केन्द्रीय कमिटीको पूर्ण बैठकको आज उद्घाटन गर्दै उनले राजनीतिक उपलब्धिको रक्षा, देश र जनताको सेवा आफ्नो पार्टीको प्रमुख प्राथमिकतामा रहेकाले सो पदको प्रस्तावलाई त्याग गरेको बताए।
आठ दलीय गठबन्धनबाट अब निर्वाचित हुने राष्ट्रपतिले आफ्नो काम, अधिकार र कर्तव्यलाई बुझेर पदको गरिमा उच्च राख्नुपर्ने उनको भनाइ थियो ।
एकीकृत समाजवादीले अवलम्वन गरेका आदर्शले राष्ट्रिय राजनीतिमा पार्टीको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले पार्टीलाई कसैले पनि कमजोर नठान्न चुनौती दिए।
केही समय अगाडि एकीकृत समाजवादीलाई पार्टी नै नमन्ने नेता राष्ट्रपति निर्वाचनमा पछिल्लो पटक विकास भएका घटनाक्रमबाट अतालिएर सहयोग माग्न आएको उनले स्मरण गरे।
विद्यमान छुवाछूत, विभेदलगायत सामाजिक विकृति न्यूनीकरण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष नेपालले दलित समुदायका अधिकार स्थापित गर्न उनीहरू एकताबद्ध हुनुपर्ने बताए।








