राम्रो गर्न खोज्दा पनि एमाले माथिनै प्रहार गरियो, प्रचण्डले चीनविरुद्ध गद्दारी गरे : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओलीले आफूले र पार्टीले राम्रो गर्न खोज्दा खोज्दै सबैतिरबाट प्रहार भइरहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित एमाले निकट बुद्धिजीवी परिषद् केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राम्रो गर्न खोज्ने एमालेमाथि सबैतिरबाट प्रहार केन्द्रित हुनु मुलुकका लागि दुर्भाग्य भएको बताए ।

उनले भने, दुर्भाग्यको कुरा देशका लागि के हो भने एमाले जस्तो पार्टीले राम्रो गर्न खोज्दा सबैतिरबाट प्रहार केन्द्रित हुन्छ, यथार्थता त यही हो नि । किनभने सामाजिक परिवर्तन र रूपान्तरणका विरोधी शक्तिहरू, आफ्ना छुद्र स्वार्थमा अल्झिएका शक्तिहरू सत्ता कब्जा गर्न सफल छन् ।

साथै अध्यक्ष ओलीले जनतालाई भ्रममा पार्न सफल शक्तिहरूले अहिले पनि सत्ता कब्जा गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्त पार्ने काममा लाग्न पार्टी निकट बुद्धिजीवीहरूलाई आग्रह गरे । उनले भने, जनतालाई अलमल्याउने, दिग्भ्रमित पार्ने र पथभ्रष्ट बनाउने तत्त्वहरूबाट जनतालाई मुक्त गराउन बुद्धिजीवीहरूले बिगुल फुक्नुपर्ने जरुरी रहेको छ ।

ओलीले गलत बाटोमा जान नदिने, सही बाटोमा जान्छु भन्ने बनाउने काम पनि बौद्धिक क्षेत्रको भएको पटक पटक दोहोर्‍याए ।

प्रधानमन्त्री प्रचण्डले चीनविरुद्ध गद्दारी गरे

त्यस्तै,अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरूको खेलमैदान बनाउन चाहेको अध्यक्ष ओलीको आरोप समेत लगाए ।

स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गर्दै उनले भने, ‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरूको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो, ‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरू मात्रै बस्छन् त्यहाँ । र, यो एउटा बहुतै खतरनाक कुरा हो ।’

भारतलाई खुसी पार्न प्रचण्डले भारतबाट आउने तरकारीहरूको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप पनि ओलीले लगाए । उनले थपे, ‘अहिले सरकारमा बस्नेहरूलाई कुनै लाजसराम छैन । हाम्रो भान्सा भान्सामा विषादीयुक्त चिज आउन दिने, भान्सा भान्सामा नेपालीलाई खान दिने, मालिक खुसी हुन्छन् कि हुँदैनन् । त्यति हो कुरा । मालिक खुसी हुन्छन् भने नेपाली मरेर के भयो ? नेपालीका भान्सामा विषादी आएर के भयो ?’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *