सडक अनुगमनमा गएका मन्त्री श्रेष्ठलाई घेरे आक्रोशित स्थानीयले

काठमाडौँ । भक्तपुरको कमलविनायक देखि नगरकोट जाने १७ किलोमिटर सडक अनुगमन गर्न गएका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नाराणकाजी श्रेष्ठलाई स्थानीले घेरेका छन् । स्थानीयले मन्त्री श्रेष्ठलाई घेरेर सडक चाँडो निर्माण गर्नसमेत चेतावनी दिएका छन् । २०२० सालमा स्तरोन्नतीको काम सुरु गरिएको उक्त सडक एक दशक वितिसक्न लाग्दासमेत निर्माण पूरा नभएपछि स्थानीय आक्रोशित भएका हुन् ।

भारतीय राजदूत नविन श्रीवास्तवलाई समेत साथमा लिएर सडकको अनुगमनमा निस्किएका मन्त्री श्रेष्ठलाई बिहीबार स्थानीयले आक्रोश पोखेका हुन् । ‘जुनै मन्त्री आए पनि सडकको हालत फेरिन’ भन्दै आक्रोश व्यक्त गरेका थियो ।

‘नौ वर्ष भइसक्यो, हामीले कति धुलो खानु ? धुलो खाएरै रोगले मर्नु ?,’ एक स्थानीय महिलाले मन्त्री श्रेष्ठलाई हप्काइन् । त्यस्तै अर्का एक स्थानीयले समयमै काम नगर्ने ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहालका धरभेटी भएको भन्दै उनलाई कामै नगरे पनि प्रचण्ड र माओवादीले जोगाएको भन्दै आक्रोश पोखे ।

‘प्रचण्डको घरबेटी भनेर सरकारले अहिलेसम्म ठेकेदारलाई कारबाही गरेको छैन,’ एक स्थानीयले भने, ‘तपाईंहरू काम नगर्ने ठेकेदारलाई कहिलेसम्म संरक्षण गरिरहनुहुन्छ ? कारबाही किन गर्नुहुन्न ?’

मन्त्री आउने भएपछि सडकमा रातारात पानी खन्याएर अलकक्राले ढाकेको भन्दै उनीहरुले आक्रोश व्यक्त गरे ।

मन्त्री श्रेष्ठले दुई वर्षमा बन्नुपर्ने सडक ९ वर्षमा पनि नबन्नु जस्जास्पत भएको स्वीकार गरे ।

एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भइरहेको हो । शैलुङ कन्स्ट्रक्सनले सन् २०१४ मा सडक निर्माणको ठेक्का पाएयता पटक–पटक म्याद थप्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *