प्रदेश प्रमुखसमक्ष निवेदन दिएर कर्णालीमा राप्रपाले लियो समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रीय समीकरणमा आएको फेरबदलका कारण केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि कर्णालीमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

बिहीबार राप्रपाबाट कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाहीले प्रदेश प्रमुख तिलक परियार समक्ष कर्णालीका मुख्यमन्त्री राज कुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको निवेदन पेश गर्दै समर्थन फिर्ता लिएको जानकारी दिइन् । केन्द्रीय राजनीतिमा आएको परिवर्तन पश्चात् राप्रपा सरकारबाट बाहिरिएको थियो ।

राजनीतिमा आएको अस्थिरताले जनताको अपेक्षा अनुसार काम गर्न नसक्ने र पार्टीको केन्द्रको निर्णयलाई स्वीकार गर्दै कर्णाली प्रदेशमा राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको प्रदेश सभा सदस्य शाहीको भनाइ छ ।

समर्थन फिर्ताको निवेदन प्रदेश प्रमुखलाई बुझाउँदै उनले भनिन, ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वाभाविक चरित्र हो भन्ने हाम्रो पार्टीको ठहर रहेको छ । परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै र केन्द्रको निर्णयलाई स्वीकार गर्दै कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छु ।’

कर्णाली प्रदेशमा एक सिट मात्रै रहेको राप्रपाले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कर्णाली प्रदेश सरकारले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *