अझै सुध्रिएका रहेनछन् प्रचण्ड

काठमाडौँ । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै छिन्नभिन्न भएको छ । सत्ता पक्षमा रहेको सबैभन्दा ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिएसँगै पुस १० गते बनेको गठबन्धन औपचारिक रूपमै भत्किएको हो ।

एमालेले सोमबार पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेस नेतृत्वको तत्कालीन माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मलित पाँच दलीय गठबन्धन भत्किएर पुस १० गते नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सम्मलित सात दलीय गठबन्धन बनेको थियो ।

सात दलीय गठबन्धनको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर, पुस १० गते भएको भनिएको सहमतिअनुसार राष्ट्रपतिको विषयमा गठबन्धनका दुई मुख्य दल नेकपा एमाले र माओवादी केन्द्रबीच मतभेद देखिएपछि गठबन्धन नै धरमरमा देखिएको थियो । गत, शुक्रबार माओवादी केन्द्रसहित गठबन्धनमा अधिकांश दलहरूले राष्ट्रपतिमा नेपाली कांग्रेसको तर्फका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनायो । नेकपा एमालेले भने पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाए पनि आफू नेतृत्वको गठबन्धनको कुनै दलको पनि समर्थन पाएन । तर, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० को सहमति कायम रहेकाले फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले पनि आफ्ना उम्मेदवार मत दिने दाबी गरेका थिए ।

आइतबारमात्रै प्रधानमन्त्री प्रचण्डले परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणमा अन्तिम समयमा रोकिदिएपछि आक्रोशित बनेको एमालेले २४ घण्टा नबित्दै सरकार छोडेको छ । सोमबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रचण्ड नसुध्रिएको टिप्पणी गरे ।

सुध्रिएका हुन् कि भनेर विगतका सबै कुरा बिर्सेर सहकार्य गरे पनि त्यस्तो नदेखिएको उनको टिप्पणी थियो । ओलीको भनाइ उद्धृत गर्दै एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्, ‘हामीमाथि अपमान गर्ने काम भयो, प्रचण्डले अपमान गरे । उनको स्थिति बदलिएको भन्ने सोचेका थियौँ, अझै व्यवहार परिवर्तन भएको रहेनछ । अब यही अपमान सहेर सरकारमा बस्न सकिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − four =