कमला पुल नयाँ डिजाइन अनुसार दुई हप्ताभित्र निर्माण सुरु हुने

जनकपुरधाम । मधेसको लाइफ लाइन हुलाकी राजमार्ग अन्तर्गत रहेको धनुषा– सिरहा जोडने कमला पुलको निर्माण नयाँ डिजाइन अनुसार दुई हप्ताभित्र सुरु हुने भएको छ ।

भासिएको पुलको निरीक्षण गर्न आएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्र निर्माण सुरु हुने बताए । उनले नयाँ डिजाइन बनाउन समय लागेकाले निर्माणमा ढिलाइ भएको बताए ।

मन्त्री श्रेष्ठ मन्त्रालयका सचिव, निर्माण कम्पनी, हुलाकी सडक आयोजनाका अधिकारी र प्राविधिकहरु सँगै लिएर पुलको निरीक्षण गरेका हुन् । पुल भासिएको लामो समयसम्म निर्माण सुरु नभएको भन्दै पटक पटक आन्दोलन भएपछि उनी निरीक्षण गर्न आएका थिए ।

कमला नदीमा २०६८ सालमा पुल निर्माण सुरु भएको थियो । पप्पु कन्स्ट्रक्सनले ४२ महिनाभित्रै सक्ने गरी २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का पाएको थियो । उसले सात वर्षमा पनि पुल निर्माण पूरा नगरेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो ।

त्यसपछि १३ असार २०७८ मा ४७० मिटर लामो पुल निर्माण सक्नेगरि लुम्बिनी बिल्डर्सलाई ठेक्का दियो । उक्त पुलको निर्माण अन्तिम चरणमा पुगेको थियो । केही बाँकी काम सकेर साउन २०७८ मा उद्घाटनको तयारी गरिएको थियो ।

तर १७ असारमा अविरल वर्षासँगै आएको बाढीले पुल भासियो । त्यो दिन पूर्वतिरको स्पान भासियो । कात्तिक महिनामा धनुषातिरको ३ नम्बर पिलर भासियो । गलत डिजाइन र गुणस्तरहीन निर्माण सामग्रीको प्रयोगले पुल सञ्चालन नहुँदै भासिएको प्राविधिकहरू बताउँछन् ।

क्षतिग्रस्त पुल नजिकै स्थानीयले बाँस र काठ हालेर बनाएको कच्ची पुलबाट अहिले मानिसहरू आवतजावत गर्छन् । मोटरसाइकल यात्रुसँग पुल बनाएका व्यक्तिले अहिले पनि २५ रुपैयाँ असुल्छन् ।

मन्त्री श्रेष्ठले पुलको निरीक्षणका क्रममा सर्वसाधारणले २५ रुपैयाँ तिरेर नदी आरपार गर्ने गरेका थाहा पाएपछि भने, ‘यहाँको अवस्था अत्यन्त दुःखद छ ।’ उनले हुलाकी सडक आयोजना प्रमुखलाई तत्काल होम पाइप राखेर अस्थायी बाटो बनाउन निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *