प्रेमीको पर्खाइमा ‘मुनमुन’

काठमाडौँ ।

नानी, ए नानी
पर्खाई ?, कसको पर्खाइ ?
हि, हि, हि, हि
पर्खनु पर्छ, पर्खनु पर्छ । माया गर्नु भन्दा गाह्रो हुन्छ । पर्ख । पर्ख ।
असारे…ए असारे…

माथिका संवादहरू नाटक ‘मुनमुन’बाट साभार गरिएको हो । ‘मुनमुन’ प्रेमकथामा आधारित एक दुःखान्त नाटक हो । नाटकमा मुनमुन र पवनलाई मूलपात्रको रूपमा उभ्याइएको छ भने जुठीआमै, असारे, रमा, वसन्त, रक्कि र सन्ध्यालाई पनि उत्तिकै महत्त्वपूर्ण भूमिकामा देख्न सकिन्छ । विविधपात्रहरूको प्रयोग भएको ‘मुनमुन’ नाटकमा हास्यरस र करुणरसको सफल प्रयोग भएको पाइन्छ ।

नाटकको सुरुमा आर्थिक उन्नतिका लागि मुग्लान जानैपर्ने तितो कटु यथार्थलाई असारे र उनकी पत्नी जुठीको माध्यमबाट देखाइएको छ । असारे जुठीलाई केही साल प्रतीक्षा गर्न भन्दै मुग्लान तिर लाग्छन् । पति मुग्लान गएपछि आफ्नो मन भुलाउन जुठी गाउँका बालबच्चालाई भेला गराएर कथा सुनाउने गर्छिन् । हावा, धर्ती, मित्रता, समय, चराहरू र कुहू कुहू गर्ने कोइलीको कथा ।

गाउँका बालबच्चाले उनलाई औधीमाया गर्थे । तर गाउँका मुखिया र गाउँलेहरूले उनलाई बोक्सीको आरोप लगाई, कुटपिट गरी गाउँ निकाला गर्छन् । यही प्रसंगमा उनले भनेकी छन् ‘सबैसँग हाँसेर खुल्ला मिजासले बोल्न, सबैको भलो चिताउनु, माया देखाउन, मन भुलाउन बालबच्चालाई कथा सुनाउनु, कोही फर्कने आसमा पर्खेर बस्नु के यो बोक्सी हुनु हो ?’

नाटककारले जुठीका माध्यमबाट समाजमा भएका अन्धविश्वास र एकल महिलाहरूप्रति गरिने दुर्व्यवहारलाई प्रस्टै देखाएको छ । साथमा माया, विश्वास र साहारा दिने असारे नहुँदा जुठिलाई समाजले एक्लो पारेको छ ।

जुठीआमैबाट कथा सुनेर हुर्केका पवन र वसन्त मिल्ने साथी हुन्छन् । पवन व्यापारबारे बुझ्न मामाघर गएको हुन्छ । मामाघरमा वृद्ध मामा र उनका साथीबिच भएको वार्ताले दर्शकलाई रुवाएको देखिन्छ । वृद्ध अवस्थामा बितिसकेकाहरूका यादलाई सम्झनामा लिएर बाच्न साह्रै गाह्रो हुने उनीहरूले भनेका छन् ।

त्यहाँ पवनको भेट मुनमुनसँग हुन्छ । मुनमुन नाटकको नायिका वा प्रमुख पात्र हुन् । उनैको नामबाट नाटकको नामकरण गरिएको छ ।

पवन र मुनमुनले पहिलो भेटमै एकअर्कालाई मन पराउँछन् । उता वसन्त आफ्नै साथीको (पवन) बहिनी (रमा)सँग प्रेममा पर्छ । रमाले पनि वसन्तलाई मन पराएकी हुन्छे ।

त्यसपछि पवन र मुनमुनको भेटवार्ता भइरहन्छ । परीक्षाका लागि मुनमुन नेपालगन्ज जानुपर्ने हुन्छ । परीक्षा सकिएपछि मुनमुनको हात माग्ने र एकअर्कालाई फेरी भेट्ने बाचा गर्दे ऊनीहरू दुवै छुट्टिन्छन् । पवन आफ्नो घर तर्फै लाग्छ ।

पवन घर फर्केपछि वसन्तलाई भेट्न जाँदा उसले मुनमुनको बारेमा सुनाउँछ । त्यसैक्रममा पवनले वसन्त र आफ्नी बहिनीको नाम रुखमा लेखिएको भेट्टाउँछ । त्यसै सन्दर्भमा उनीहरूको ठुलो झगडा पर्छ र झगडा परेपनि अन्त्यमा पवनले वसन्तलाई ज्वाइँको रूपमा स्विकार्छ ।

वसन्तकै सल्लाहलाई मानेर पवन मुनमुनलाई भेट्न नेपालगन्ज जाँदा दुर्घटनामा परि पवनले आफ्नो स्मरण शक्ति गुमाउँछ र मुनमुन, वसन्त, रमालगायत सम्पूर्णलाई बिर्सन्छ ।

उता मुनमुन भने आफ्ना प्रेमी पवनको प्रतीक्षामा बसिरहन्छ ।

त्यसपछि नाटकको बाँकी अंशमा पवनलाई स्मरण शक्ति फर्काउन वसन्तले मद्दत गरेको, पवन निको भएको, मानमुनलाई भेट्न गएको आदि दृश्यलाई समेटिएको छ ।

अब पवनको स्मरण शक्ति फर्केला कि नफर्केला ?, मुनमुनसँग पवनको भेट होला कि नहोला ?, उनीहरूको प्रेम सफल होला कि नहोला ? दर्शकका यिनै कौतुहलतालाई नाटकको बाँकी अंशमा मटाउने प्रयास गरिएको छ ।

प्रेम विधामा बनेको ‘मुनमुन’ नाटक एक उत्कृष्ट नाटक हो । मान्छेलाई पर्खन सजिलो हुन्छ कि बिर्सन ? यस नाटकले आफ्नो प्रिय फर्कने आसमा हरेक पल मन बेचेन भइरहने, छटपटि रहने अनि आफ्नो प्रियलाई कहिल्यै बिर्सन पनि नसकिने र पुरै जीवन पर्खाइमा अड्किरहने कुराहरूलाई अभिनय मार्फत देखाइएको छ ।

यस नाटकले प्रेममा पर्न जति सजिलो हुन्छ बिर्सन त्यत्तिनै गाह्रो हुने कुरालाई देखाएको छ । त्यो भन्दापनि गाह्रो हुन्छ पर्खन-पर्खनु जो कोहीको वशमा हुँदैन । यसमा ठुलो तागत र शक्ति चाहिन्छ ।

विभिन्न संगीत, दृश्य, प्रकाश र पात्रहरूको अभिनयले नाटकलाई उत्कृष्ट बनेको छ । सरल र सरस भाषा शैलीले नाटकको भाव बोधमा सहजीकरण भएको देखिन्छ ।

नाटकमा स्मरणशक्ति नफर्केको भन्दै पवनलाई कथाबाट अलग्याइएको छ । पवनको उक्त कार्य दर्शकलाई त्यत्ति स्वीकार्य भएको छैन । ‘मुनमुन’ विविध पात्रहरू भएको नाटकको हो । यसमा एउटै मूल पात्र छैन । यस नाटकमा मुनमुन जस्तै अन्य पात्रहरूका भूमिका उत्तिकै महत्त्वपूर्ण छन् । तर नाटकको नाम मुनमुन राखिदा अन्य पात्रहरू ओझेलमा परेको देखिन्छ ।

सम्राट् भुजेलले बुद्धिसागरको ‘फिरफिरे’ उपन्यासबाट प्रभावित भई ‘मुनमुन’ नाटकको लेखन तथा निर्देशन गरेका हुन् भने श्रिपेस श्रेष्ठले सहनिर्देशन गरेका हुन् । प्रेमकथालाई मूल विषयवस्तु बनाएको ‘मुनमुन’ नाटकले समाजमा भएका विकृति, विसंगति र गरिबिलाई चित्रण गरेको छ । नाटकमा मुनमुन र पवनको वियोगान्त प्रेमकथालाई मार्मिक ढङ्गबाट पस्किएको देख्न सकिन्छ ।

‘मुनमुन’ नाटकमा मनीषा ओझा, मनोज पोखरेल, प्रशंसा सिवाकोटी र अन्य कलाकारहरू रहेका छन् । फागुन ५ गतेदेखि थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन नाटक २० गतेसम्म देखाइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *