नयाँ गठबन्धनमा आठ दल : कांग्रेसलाई राष्ट्रपति, जसपाले पायो उपराष्ट्रपति

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पुस १० गते प्रधानमन्त्री बनाउने समझदारी गर्दै निर्माण भएको नेकपा एमालेसहितको वर्तमान सत्ता गठबन्धन दुई महिना बित्न नपाउँदै भत्किएको छ। पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसहित पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ। साथै उक्त गठबन्धनमा प्रतिनिधिसभामा रहेका अन्य तीन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत सहभागी भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको आठ दलको बैठकमा नयाँ गठबन्धन निर्माण गर्ने सहमति भएको हो । गठबन्धन बैठकमा प्रतिनिधिसभाको ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए। ‘संसद्को ठुलो दलको हैसियतमा नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति भएको छ,’ उनले आठ दलीय बैठकपछि पत्रकारसँग भने, ‘राष्ट्रपतिमा कांग्रेसले सार्ने उम्मेदवारलाई जिताउन सबै दल लाग्ने सहमति भएको छ। निर्वाचनअघिको गठबन्धनलाई निरन्तरता दिँदै अघि बढ्ने हामीबीच समझदारी बनेको छ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गर्ने मनसायका साथ संसदीय प्रक्रिया अघि बढाएपछि कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन निर्माण भएको थियो। प्रमुख राजनीतिक दलका साथै विभिन्न पक्षसँगको दुई पक्षीय र बहुपक्षीय छलफलपछि शुक्रबार साँझ बसेको आठ दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्को ठुलो दलको हैसियतमा कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए। कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गर्दै दाहालले गठबन्धनमा रहेका दलहरूलाई सरकारमा सहभागी हुन पनि आह्वान गरेका छन्। प्रधानमन्त्री दाहालले नयाँ राजनीतिक यात्रा सुरु भएको घोषणा गरेको जानकारी महतोले दिए । प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै उनले भने, ‘तपाईंहरू सबै सरकारमा सहभागी भएर मुलुकसामु देखिएका राजनीतिक चुनौतीको सामना गर्दै अब जनजीविकाका मुद्दामा पनि हामी एक भएर अघि बढ्नेछौं।’

आफ्नो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रिय सहमतिका लागि राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सारेको बताउँदै नेता महतोले भने, ‘हाम्रो उम्मेदवारका पक्षमा राष्ट्रिय सहमति नजुटेकाले बैठकमा सहभागी दलहरूबीच कांग्रेस उम्मेदवारलाई सहयोग गर्ने सहमति भएको छ।’

बैठकमा कांग्रेसलाई राष्ट्रपति र उपराष्ट्रपति आफ्नो पार्टीलाई दिने सहमति भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। ‘कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने सहमति भएको छ,’ उनले भने, ‘सरकारमा सहभागितासहितका शक्ति बाँडफाँटको कुरा पछि हुँदै जान्छ।’ संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरकफरक लिंग र समुदायको हुनुपर्ने व्यवस्था छ।

जसपा स्रोतका अनुसार सांसद रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने अध्यक्ष यादवको तयारी छ। पार्टी प्रवक्ता मनीष सुमनले पनि रामसहायलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाउने सम्भावना रहेको बताए। रामसहाय बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। उनी उपराष्ट्रपति भए बारा २ मा उपनिर्वाचन हुनेछ। उपनिर्वाचनमा पार्टी अध्यक्ष उपेन्द्र स्वयं उम्मेदवार हुने योजनामा छन्। मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपेन्द्र सप्तरी २ बाट पराजित भएका थिए। सो क्षेत्रबाट जनमत पार्टीका अध्यक्ष सिके राउत विजयी भएका थिए।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पनि राष्ट्रपतिमा दाबी गरेको तर उनको व्यवस्थापनका विषयमा अहिले कुनै सहमति बनिनसकेको दाबी यादवले गरे। ‘उहाँले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्नुभयो,’ यादवले भने, ‘अरू विषयमा पनि कुरा हुँदै जानेछ।’ यद्यपि प्रदेशदेखि संघको सरकारसम्ममा नेकपा एसलाई सम्मानजनक सहभागिताका साथै अध्यक्ष नेपाललाई पनि प्रधानमन्त्री बनाउने प्रमुख दलबीच समझदारी बनेको स्रोतको दाबी छ। प्रधानमन्त्रीको कार्यकाल तीन शीर्ष नेतामा बाँड्ने र कार्यकाल उनीहरूले नै टुंगो लगाउने भएका छन्। दाहालपछिको कार्यकाल नेकपा एसका अध्यक्ष नेपाललाई दिने समझदारी भएको छ।

निर्वाचनमा सिट बाँडफाँटमा असन्तुष्ट बनेको जसपा अन्तिम समयमा पाँच दलीय गठबन्धन छाडेर एमालेसँग चुनावी तालमेल गर्न पुगेको थियो भने लोसपा गठबन्धनमा जोडिएका थियो। तर निर्वाचनपछिको सत्ता समीकरणमा प्रतिनिधिसभाको ठुलो दल बनेको कांग्रेसले पूर्वसहमतिविपरीत प्रधानमन्त्री नछाडेपछि माओवादी केन्द्रका अध्यक्ष दाहाल एमालेसहितको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। त्यससँगै टुटेको कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिन कांग्रेसले पुस २६ गते दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो।

जसपाले दाहाललाई प्रधानमन्त्रीमै समर्थन गरेको थियो । कांग्रेसका साथै पुरानो गठबन्धनमा रहेका नेकपा एस, लोसपाले पनि दाहाललाई मत दिएका थिए। त्यससँगै पुरानो गठबन्धनलाई ब्युँताउने प्रयासमा कांग्रेस र माओवादी नेताहरू सक्रिय भए। बुधबार साँझ कांग्रेस र माओवादीका शीर्ष नेताबीच पुरानो गठबन्धन ब्युँताउने समझदारी भएको थियो। सोहीअनुसार बिहीबार नै अन्य दलसँग छलफल गरेर त्यसलाई औपचारिकता दिने तयारी थियो। तर नेकपा एसले पनि राष्ट्रपतिमा दाबी गर्नुका साथै दुई पक्ष र बहुपक्षीय छलफल नसकिएपछि शुक्रबार बिहान बसेको चार दलको बैठकले पुरानो गठबन्धन ब्युँताउने समझदारी गरेको हो। दाहाल नेतृत्वको सरकारलाई निरन्तरता दिँदै कांग्रेसलाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिँदै अघि बढ्ने समझदारी आठ दलबीच भएको छ ।

चार दलको बैठक अघि कांग्रेस र माओवादीका शीर्ष नेताहरू छलफलमा जुटेका थिए। पाँच दलले पुरानो गठबन्धनलाई ब्युँताउने समझदारीका लागि साँझ बैठक बस्नुअघि प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा दुई घन्टा लामो छलफल गरेका थिए। नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिमा अघि सारे आफ्नो समर्थन रहने अन्यथा पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने ओलीले दाहाललाई जनाएका थिए। त्यसलगत्तै ओली नेकपा एसका अध्यक्ष नेपाललाई सांसद कृष्णकुमार श्रेष्ठको निवासमा भेटेका थिए।

राष्ट्रपतिमा आफ्नो दलको समर्थन रहने जनाउँदै पार्टी एकीकरणसहित मिलेर अघि बढ्न प्रस्ताव दोहोर्‍याएका थिए। बिहान चार दलको बैठकमा सत्ता साझेदारीसहितका विषयमा अनौपचारिक समझदारी गरेका नेपालले ओलीको प्रस्तावलाई अस्वीकार गर्दै सर्वसम्मति भए मात्र राष्ट्रपतिको उम्मेदवार बन्ने बताएका थिए। त्यसपछि बालुवाटारमा बसेको निर्वाचनअघिको पाँच दलको बैठकमा लोसपाका साथै जनमत र नाउपालाई पनि सहभागी गराइएको थियो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजे बसेको आठ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने सर्वसम्मतिले निर्णय भएको जनाएका छन्। साँझ भएको सहमतिअनुसार फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन आठ दलको संंघीय र प्रदेशसभामा झन्डै ३१ हजार मतभारसहित स्पष्ट बहुमत हुनेछ। कांग्रेसले अघि सार्ने उम्मेदवार राष्ट्रपति निर्वाचित हुने निश्चित छ। संघीय संसद्मा ठुलो दल रहेको कांग्रेसको १६ हजार २२१, माओवादी केन्द्रको ७ हजार ७७६, नेकपा एसको २ हजार ६७३, जसपाको २ हजार १४५, जनमतको १ हजार २४२, लोसपाको ९७१, नाउपाको ८०४ र राष्ट्रिय जनमोर्चाको २२३ मतभार छ। यद्यपि कांग्रेसले राष्ट्रपतिमा कसलाई अघि सार्ने भनेर शनिबार बिहान साढे ८ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले टुंगो लगाउनेछ। पार्टी नेता रामचन्द्र पौडेललाई नै कांग्रेसले राष्ट्रपतिमा अघि सार्ने निकट स्रोतको दाबी छ। तर पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि राष्ट्रपतिका आकांक्षी छन्। –नागरिक दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 11 =