बालुवाटार बैठक : रामचन्द्र राष्ट्रपति, माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्नेबारे छलफल

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लिएर बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ ।
बैठकमा विभिन्न विकल्पमा छलफल भएको महामन्त्री गगन थापाले बताएका छन् । अहिले चार पार्टीले आफ्ना-आफ्ना पार्टीमा छलफल गरेर पुन ५ बजे चार दलको संयुक्त बैठक बस्ने थापाले बताएका छन् ।
बैठकमा सहभागि एक नेताका अनुसार उपराष्ट्रपति जसपाले पाउने गरी छलफल भएको छ । । चार दलको बैठकमा भएको समझदारी अनुसार चार दलले नै उपराष्ट्रपति जसपालाई दिन तयार जस्तै भएको ती नेताले बताए ।
ती नेताले भने, ‘उपराष्ट्रपति जसपाले पाउने टुंगो लागेको छ ।’
यता राष्ट्रपतिको विषयमा रामचन्द्र पौडेल र माधव नेपालबारे छलफल भएको बैठकमा उपस्थित अर्का नेता बताउँछन् । ती नेताले मकालुखबरसँग भने, ‘माधव नेपार र रामचन्द्र पौडेलबारे छलफल भएको साँचो हो । तर कांग्रेसलाई नै राष्ट्रपति दिएर १ वर्ष नेपाललाई प्रधानमन्त्री दिउँ भन्ने कुराहरु पनि आएका छन् । कांग्रेस ठुलो पार्टी भएकाले राष्ट्रपति र एक वर्षको प्रधानमन्त्री भागमा पर्न सक्छ । यसो हुँदा गठबन्धनमा पनि कुरा मिल्छ । प्रधानमन्त्री पनि यो कुरामा सहमती हुनुहुन्छ । अब पार्टीमा छलफल गरेर साँझ सम्ममा निर्णय होला ।’








