झलनाथ खनाल बंगलादेश प्रस्थान

काठमाण्डौ। नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेश प्रस्थान गरेको छ। ढाकामा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन उनीहरु त्यहाँ पुगेका हुन्।
सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्नेछन्।
प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ छन्।
पूर्वप्रधानमन्त्री खनाल र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ। अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको खनालको सचिवालयले जनाएको छ।








