राष्ट्रपति निर्वाचन : मतदाता नामावली प्रकाशन आज (तालिकासहित)

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ । फागुन २५ मा हुने राष्ट्रपति र चैत २ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुङ्ग्याएको हो ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज नामावली प्रकाशन गर्नेछ । आयोगका अनुसार बिहान १० बजेदेखि १२ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ । आजै १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावलीउपर निवेदन तथा उजुरी दिन सकिने छ । त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिने छ  ।

दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिने जनाइएको छ  । उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ  । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ  ।

निर्वाचन भने फाल्गुण २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ  । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता हुनेछन् । २०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।

राष्ट्रपति निर्वाचनको लागि संघीय संसद्का ३३४ र प्रदेश सभाका ५५० गरी कुल ८८४ मतदाता मत खसाल्न योग्य हुन्छन् । तर, संघीय ससंद अन्तर्गत २७५ सदस्सीय प्रतिनिधि सभामा अहिले २७३ सदस्य मात्रै कायम छन् । राष्ट्रिय सभाका सबै ५९ सदस्य नै कायम भएकाले संघीय संसद्का कुल मतदाताको सङ्ख्या ३३२ रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − eight =