प्रधानमन्त्रीसँग लेखनाथवासीको आग्रह : हामीलाई पोखराबाट छुटाइदिनुस्

पोखरा । २०७२ अघि पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका थिए । छुट्टाछुट्टै दुई स्थानीय निकायमा नजिकका गाविसलाई समेत गाभेर बृहत् पोखरा महानगरपालिका बनाइयो । लेखनाथवासीले सोही समयमा आफूहरू छुट्टै हुनुपर्ने आवाज नउठाएका होइनन् । तर पोखरासँग गाभिएपछि विकासको स्वाद चाख्न पाउने आस पनि उनीहरूको थियो । संघीयता लागू भएको ८ वर्ष भइसक्दासमेत लेखनाथले अपेक्षाकृत फड्को मार्न नसकेपछि लेखनाथवासीले निरन्तर रूपमा पोखराबाट छुटाउन माग गर्दै आएका छन् ।

महानगरको चुनावमा लेखनाथ क्षेत्रबाटै पहिलो मेयर बने । अहिले पनि सोही क्षेत्रबाट मेयर छन् । तर उनीहरूको नजर लेखनाथमा नपुगेको गुनासो स्थानीयको छ । ‘विकासका काम विजयपुर कटेको छैन । जति बजेट आए पनि पुरानो पोखरामै सीमित छ,’ उनीहरूले भने, ‘बरु हामीलाई छुटाइदिनुस् । हामी छुट्टै भएर विकास गर्न चाहन्छौँ ।’ लेखनाथवासीले यही प्रस्ताव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि राखेका छन् ।

पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन आएका प्रधानमन्त्रीको केही समय मागेर लेखनाथ उद्योग वाणिज्य संघमा लगे । सभा हलमा लगेर व्यवसायी सहित अगुवाहरूले लेखनाथ र पोखरा सँगै रहन नसक्ने बताएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा लेखनाथ नगरपालिका पुनः स्थापनाको माग राखेको संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।

उनले लेखनाथमा औद्योगिक क्षेत्र स्थापना, ताल संरक्षण सहित आफ्ना समस्या प्रधानमन्त्रीलाई सुनाए । ‘हामीले हाम्रा समस्या राखेका छौँ । उहाँ सकारात्मक हुनुहुन्छ,’ आत्रेय भन्छन्, ‘लेखनाथ छुट्टै हुने विश्वास लिएका छौँ ।’ सरकारको नेतृत्वसँग लेखनाथको सीधा पहुँच नपुगेकोले विकासमा पछि पर्नुपरेको उनीहरूको तर्क छ । प्रचण्डले समस्याको समाधानका लागि आफूले गम्भीरताका साथ लिएको प्रतिक्रिया दिए ।

अहिले चुनावी नारा समेत बन्न थालेको छ, पोखरा र लेखनाथ छुटाउने योजना । कास्की २ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले चुनावको समयमा आफू निर्वाचित भए लेखनाथ र पोखरा छुटाउन पहल गर्ने घोषणा गरेका थिए । अहिले निरन्तर रूपमा पोखरा–लेखनाथबीचको सम्बन्ध र विच्छेदबारे आवाज उठिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *