एमालेबाट राष्ट्रपति नभए प्रतिपक्षमा बस्छौँ : योगेश भट्टराई

सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले उठाएको उम्मेदवार राष्ट्रपति नभए आफ्नो पार्टी प्रतिपक्षमा जाने बताएका छन् । सुर्खेत आएका सचिव भट्टराईले राष्ट्रपतिको सन्दर्भमा सहमति कायम नभए सत्ता गठबन्धन भत्किने बताएका हुन् ।

प्रधानमन्त्री पुष्प कमल दाहालले नै पुस दश गते राष्ट्रपति र सभामुख एमालेलाई दिने प्रस्ताव गरेको जिकिर गर्दै उक्त सहमति इमानदारीपूर्वक पालना हुनुपर्नेमा भट्टराईले जोड दिए । उनले एमालेकै उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुने विश्वास समेत व्यक्त गरे । ‘पुस दश गतको सहमति कायम छ भन्ने एमालेले बुझेको छ’ उनले भने, एमालेबाट प्रस्तावित व्यक्ति नै राष्ट्रपति हुन्छ ।’

नेकपा माओवादीले काँग्रेसका उम्मेदवारलाई अघि सारे एमाले प्रतिपक्षमा जाने उनको भनाइ छ । उनले सत्ता गठबन्धनलाई निरन्तरता दिने हो वा काँग्रेसलाई साथ दिने हो स्पष्ट हुन पनि प्रधानमन्त्रीलाई आग्रह गरे । अहिलेको सत्ता गठबन्धन भत्काउनका लागि विदेशी शक्तिहरू लागि परेको सचिव भट्टराईको भनाइ छ ।

नेपालका वामपन्थी दलहरूलाई एक ठाउँमा नउभिउन भन्ने र काँग्रेस सत्ता बाहिर नबसोस् भन्ने चाहाना छिमेकी राष्ट्रहरूले राख्ने गरेको उनले जिकिर गरे । ‘हाम्रा केही विदेशीहरूलाई के छ भने काँग्रेसलाई विपक्षमा राख्दा मुटु दुख्छ त्यति धेरै स्नेह किन हो थाहा छैन तर काँग्रेस प्रति अतिरिक्त मोह छ केही विदेशी शक्तिहरूको’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *