मेयर बालेनका १० महिना

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको चुनावमा ठूल्ठूला दललाई हराउँदै काठमाडौँ महानगरपालिकाका मेयरमा बालेन्द्र शाह निर्वाचित भए । नेपाली कांग्रेस, नेकपा एमालेलगायतका राजनीतिक दललाई पाखा लगाएर काठमाडौँवासीले बालेनलाई आफ्नो अभिभावक चुने । चुनावअघि उनको नाम कसैले पनि सुनेका थिएनन् । तर, मधेशी मूलकै भएपनि काठमाडौँका स्थानीयले उनीमाथि विश्वास गरे । बालेन आएपछि धेरै क्षेत्रमा परिवर्तन भएका छन् ।

विगत दुई दशकदेखि फुटपाथ पसल थाप्ने क्रम एकदमै बढेको थियो । न्यूरोड, असन, इन्द्रचोकतिर त पाँच दशक नै भइसकेको थियो, फुटपाथमा व्यापार गर्न थालेको । जुनसुकै पार्टीको मेयर आएपनि कसैले फुटपाथ हटाउन सकेनन् । फुटपाथबाट पसल हटाउँदा पैदलयात्रीलाई धेरै राहत भएको छ । सटर भएकाले बाटोसम्म सामान फिँजाउँदै आएका थिए । जसले गर्न हिँड्नलाई नै धेरै सास्ती हुन्थ्यो । गाडी चलाउन त महाभारत नै हुन्थ्यो । बालेनले फुटपाथमा पसल राख्न रोक लगाएपछि पैदलयात्री र सवारी धनीलाई निकै सहज भएको छ ।

बालेनको यो काम सबैतिरबाट वाहीवाहीको लायक छ । देशभरका जनताले मेयर बालेनजस्तो हुनुपर्छ भनेर आफ्नो हर्ष व्यक्त गरिरहेका छन् । बालेन आएपछि सबैलाई ठिक पारेका छन् । सार्वजनिक जग्गा कब्जा गरेर बसेकोलाई धमाधम हटाउने काम भयो । सरकारको सम्पत्ति आफ्नो नाममा लैजानेलाई पनि कारबाही अघि बढाइयो । व्यापार व्यवसाय गर्नेहरूले वर्षौँदेखि कर तिरेका थिएनन् । दर्ता गरेकाले कर नतिर्ने, कतिले कर तिर्नुपर्छ भनेर दर्तै नगर्ने ।

यस्तालाई ठिक पार्ने अभियानको शुरुवात गरियो । महानगरपालिकाले बारम्बार अल्टिमेटम र कारबाहीको चेतावनी दिएपछि पसलेहरूले कर तिर्न थाले । वर्षौँदेखि राजस्व छल्दै आएका ठुल्ठुला व्यवसायीहरूले पनि कर तिरे । शहरको सुन्दरतामा ह्रास ल्याउने र जथाभाबी टाँगिएका होर्डिङ बोर्ड, पोस्टर, प्याम्लेटहरु हटाउन थालियो । महानगरपालिकाले धेरै स्थानबाट होर्डिङ बोर्ड हटाइसकेको छ । यस्ता बोर्डका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको थियो ।

यता, राज्यलाई राजस्व पनि आउने भयो । नक्सा पास नगरी अनधिकृत भवन ठड्याउनेहरूलाई पनि बालेनले ठिक ठाउँमा ल्याए । ९० दिनभित्र नक्सा पास नगरेको खण्डमा सरकारी सेवासुविधा सबै कटौती गर्ने चेतावनी दिएका थिए । सरकारी भवन होस् या निजी यिनीहरूले कानुनलाई धोती लगाउने काम गर्दै आएका थिए । कानुनभन्दा आफूलाई माथि राखेर मनलाग्दी भवन थप गर्नेलगायतका कार्य भएका थिए । बालेनको घोषणापछि यिनीहरू पनि कानुनको दायरामा आउनुपर्‍यो ।

दुई तलाको नक्सा पास गरेर पाँच तला ठड्याएका थिए । कि पाँचै तलाको नक्सा पास गर्नुपर्ने कि दुई तलाभन्दा माथिको भाग भत्काइदिने भनेपछि घरधनीहरूको सातो उड्यो । मापदण्डविपरीत बनेका घरहरूलाई पनि यसअघिका जनप्रतिनिधिहरूले सम्पूर्णताको प्रमाणपत्र दिएका थिए । २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूले पैसा खाँदै सम्पूर्णता प्रमाणपत्र बाँडेका थिए । बालेनले तिनीहरूमाथि पनि छानबिन गर्ने घोषणा गरिसकेका छन् ।

मापदण्ड नपुगेका घरको सम्पूर्णता प्रमाणपत्र खारेज गर्ने महानगरपालिकाले जनाएको छ । काठमाडौँमा लामो समयदेखि सवारी पार्किङको समस्या थियो । घरधनीले भवन ठड्याउने अनि अण्डरग्राउण्ड पार्किङमा भाडा उठाउँदै पसल थाप्न दिने । पार्क गर्ने ठाउँ नभएपछि सवारी धनीहरू बाध्य भएर सडकमा पार्किङ गर्थे । जसले गर्दा उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । बालेनले यो समस्या पनि समाधान गरिदिएका छन् । अण्डरग्राउण्डमा पसल थाप्नेहरूलाई धमाधम कारबाहीको दायरामा ल्याइयो ।

अनि बल्ल पार्किङको समस्याबाट सर्वसाधारणले छुटकारा पाए । सडकमा गाडी पार्क गरेबापत टोले गुन्डाहरूले पैसा उठाउँदै आएका थिए । यो पनि हल भएको छ । चुनाव हुनुभन्दा महिनौँ दिन अघिदेखि काठमाडौँको फोहोर उठेको थियो । राजधानीको हरेक सडक छेउछाउमा फोहोर उठ्न सकेको थिएन । बालेन निर्वाचित नभएपछि उनले घोषणा गरेका थिए,‘जबसम्म फोहोर उठाउँदिन तबसम्म माला लगाउँदिन ।’ उनले हरसम्भव कोसिस गरेर फोहोर उठाएरै छाडे ।

अघिल्लो मेयर विद्यासुन्दर शाक्यले पाँच वर्ष सिन्को पनि नभाँचीकन बिताए, अन्त्यमा फोहोर पनि बालेनको टाउकोमा थुपारेर गए । एमाले र कांग्रेसले नुवाकोटमा भएका आफ्ना जनतालाई फोहोर फाल्न नदिने उचाले । बालेनलाई असफल देखाउनका लागि एमाले र कांग्रेसले झोले कार्यकर्ता उठायो । यद्यपि, बालेनले हार खाएनन्, फोहोर उठाएरै छाडे । अनधिकृत संरचना भत्काउनका लागि मेयर बालेन आफैँ खटिए । सार्वजनिक र गुठीको जग्गामा निर्मित टहरा, भवन भत्काउन उनी आफैँ डोजर लिएर पुगे ।

कसैले पिट्लान् भनेर उनी डराएनन् । नेताको होस् या प्रहरी प्रशासनको त्यो भत्काएरै छाडियो । नियमकानुन सबैलाई सराबरी हुन्छ भनेर बालेनबाट सिक्न पाइयो । घरधनीहरूले हामीले सरकारी जग्गा मिचेका छैनौँ भनेर दाबी गरिरहे । बालेनले नक्सा हेर्दै मिचिएको भागमा डोजर चलाउँदै गए । एमालेका नेता महेश बस्नेतले खुला रूपमा बालेनलाई चुनौती दिएका थिए । उनले बालेनलाई ठिक पार्छु भनेर धम्की दिएका थिए । यो त उदाहरण मात्र भयो ।

भित्री रूपमा उनलाई कति धम्की आएको थियो, होला ? तर, उनको खुट्टा डगमगाएन । आफ्नो जिम्मेवारी निर्वाह गर्न बालेन कहिल्यै पछि हटेनन् । बालेनले काठमाडौँ मात्र होइन, देशभरका जनताको मन जितेका थिए । बस्नेतले त्यति के भनेका थिए, चुनावमा त्यसको नतिजा पाइहाले । भक्तपुर क्षेत्र नम्बर २ का जनताले चुनाव हराइदिए । सहकारीले सर्वसाधारणलाई उठीबास लगाउन थालेपछि बालेन ‘एक्सन’ मा उत्रिए । बचतकर्ताको पैसा फिर्ता नगर्ने सहकारीका सञ्चालकलाई कारबाही गर्ने महानगरपालिकाको घोषणा गरेको छ ।

त्यस्तै, सहकारीहरू नियमित अनुगमन गर्ने महानगरपालिकाको भनाइ छ । यता, महानगरपालिकाले धेरै बचत र लामो समय सहकारीमा नराख्न सुसूचित गराएको छ । पुस १५ गतेभित्र साधारण सभा सम्पन्न नगरेका सहकारीले बजारबाट पैसा उठाउन पनि नपाउने र कर्जा लगानी गर्न पनि नपाउने चेतावनी दिइएको छ । व्यापारीहरूले जथाभाबी मूल्यमा सामान बिक्री वितरण गर्ने गरेको गुनासो आएपछि बालेनले कर्मचारी खटाएर अनुगमन बढाए ।

माछामासु, दहीदूध पसलेहरूले सरकारको मापदण्ड पालना गरेका थिएनन् । त्यस्तालाई बालेनले ठिक पारेका छन् । काठमाडौँमा मात्र ६३४ वटा ढुंगेधारा थिए । कतिपयले ढुंगेधारा मासेर घर बनाए । कतिपयमा पानी आउँदैन । ताल, पोखरी, कुवाहरू पनि सबै व्यक्तिले अतिक्रमण गरेका छन् । उनले यसको खोजी कार्य थालेका छन् । लोप भएका सार्वजनिक सम्पत्तिको खोजतलास शुरु भएको छ । पार्टी, चौतारा, आर्यघाटका जग्गाहरू व्यक्तिको नाममा गएको छ । यो जतिसक्दो छिटो सरकारले फिर्ता ल्याउनुपर्छ ।

घरधनीहरूले मनलाग्दी भाडा लिएर कोठाबहालमा बस्नेलाई ठग्दै आएका थिए । एउटै कोठाको पाँचदेखि १३ हजार रुपैयाँसम्म लिँदै आएका थिए । एक फ्ल्याटको २० हजारदेखि लाखसम्म उठाउँथे । सटर त १० हजारदेखि १० लाखसम्मको छ । घरधनी यत्रो भाडा उठाउँथे तर राज्यलाई कर तिर्दैनथे । भाडाबाल र राज्य ठगिने अनि घरधनी मोटाउने कार्य व्यापक बढेको थियो । यता, बहालमा बस्नेहरूलाई घरधनीले थिचोमिचो गर्दै आएका थिए । हरेक तीन महिनामा भाडा बढाइदिने, मागेजति पैसा दिएन भने पुरानालाई निकालेर नयाँलाई भाडामा दिने गरिएको थियो ।

एउटै घरधनीले घर भाडामै लगाएर मासिक ५० हजारदेखि करोडसम्म आम्दानी गर्थे । तर, राज्यलाई सुको कर तिर्दैन्थे । बालेनले यसको पनि हल निकालेका छन् । उनले घरधनी र बहालवालालाई वडामा सम्झौता गराएर मात्र भाडामा लगाउने कार्यविधि बनाएका छन्, जुन इतिहासकै सबैभन्दा राम्रो निर्णय हो । घरभाडा वडामा सम्झौता गर्नुपर्छ । तीन वटा कागजात गर्नुपर्छ । एउटा घरधनी, एउटा कोठावाला र अर्को वडाले राख्ने । यसले धेरै कोठाबहाललाई फाइदा हुन्छ ।

यो निर्णय लागु भएपछि राज्यलाई कर आउँछ, भाडामा बस्नेलाई कोठामा बसिराख्ने झन्झट पनि अन्त्य हुने भो । कुन घरमा कस्ता व्यक्ति बस्छन् ? सरकारलाई थाहा हुने भो । शान्तिसुरक्षामा पनि सघाउ पुग्ने भो । बालेनले महानगरका कार्यरत कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने भनेका छन् । यता, घरहरू भत्काएर टुकुचा खोला खोतल्ने काम पनि अघि बढ्यो । २०७९ मंसिर १२ गते थापाथली किनारमा रहेको सुकुम्वासी हटाउन महानगर प्रहरी र डोजर पुग्यो । तर, एमालेका कार्यकर्ताहरूले महानगरका प्रहरीमाथि हमला गरेपछि डोजर फर्किनुपर्‍यो ।

महानगरले सुकुम्वासी हटाउन पटकपटक गृह मन्त्रालयसँग सुरक्षाकर्मीको माग गरेको छ । यद्यपि, गृहले चासो देखाएको छैन । बालेन र महानगर प्रहरी आफैँ सुकुम्वासी हटाउन खटिनुपर्छ । गृहले साथ नदिएपनि जनता महानगरको साथमा छ । सरकारी जग्गा कब्जा गरेर बस्ने हुकुम्बासीहरुले राज गरिरहेका छन् । बालेनको नाम लिएर रवि लामिछानेले चुनाव दिए । गृहमन्त्री बने । तर, उही बालेनलाई साथ दिएनन् । बालेनले गृहमन्त्री रवि हुँदा पत्र लेखेका थिए । तर, उनले साथ दिन चाहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *