टर्की र सिरियामा अर्को प्रकोपको चेतावनी

काठमाडौँ । टर्की र सिरियामा सोमवार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २० हजारभन्दा बढी पुगेको छ । यद्यपि संयुक्त राष्ट्र सङ्घले प्रकोपको पूर्ण असरबारे अझै यकिन नभएको बताएको छ ।

उद्धारकर्मीहरूले जीवित मानिसहरूको खोजी गरिरहेका छन् । तर भूकम्प गएको १०० घण्टा पुग्न लाग्दा बाँचेका कोही भेटिनेबारे आशा हराउँदै गएको छ । अत्यधिक चिसो मौसमका कारण हजारौँ भूकम्प पीडितको जीवन समेत जोखिममा छ । उनीहरू प्रकोपपछि आवास, पिउने पानी र खानाबाट वञ्चित छन् ।

टर्कीका राष्ट्रपतिले उक्त भूकम्पलाई ‘शताब्दीकै प्रकोप’ भनेका छन् । प्रभावितहरूका लागि एक प्रमुख अन्तर्राष्ट्रिय राहत प्रयासले गति लिएको छ । विहीवार विश्व ब्याङ्कले टर्कीलाई आधारभूत पूर्वाधारको पुनर्निर्माण र भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न तत्काल वित्तीय सहायतासहित १.७८ अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

तर भूकम्पले क्षति गरेका ठाउँहरूमा खटेका १,००,००० भन्दा बढी उद्धारकर्मीहरूको प्रयासमा भने सवारीसाधनको अभाव र सडकहरू भत्किनुलगायत समस्याका कारण अवरोध निम्तिरहेको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसले विपत्तिको पूर्ण हद अझै हाम्रो आँखा अगाडि देखा परिरहेको चेतावनी दिए । विशेषगरी लामो समयदेखि जारी गृहयुद्धले ध्वस्त पारेको सिरियाको स्थितिमा उनले जोड दिए ।

विहीवार इडलिब प्रान्तको बाब अल-हवा क्रशिङ हुँदै उत्तर-पश्चिम सिरियामा पहिलो संयुक्त राष्ट्र सङ्घीय मानवीय सहायता पठाइएको छ । सिरियाली सरकार पक्षधर सेना नियन्त्रित क्षेत्रहरूमा नपुगी संयुक्त राष्ट्र सङ्घको सहायता प्रभावित क्षेत्रमा पुग्ने एक मात्र बाटो उक्त क्रशिङ हो । गुटेरसले थप सहयोगको पठाउने प्रतिबद्धता जनाए र उनले संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्लाई एकभन्दा बढी सीमामार्फत सहायता पठाउने अनुमति दिन आग्रह गरे । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *