पोखरामा पार्किङको तनाव, व्यवसायीको विरोधले पछि हट्यो महानगर

पोखरा । पोखराका प्रमुख सहरी क्षेत्रमा अहिले सडक पार्किङ निषेध गर्ने तयारी छ । महानगरले गत सोमबारदेखि नै पार्किङ हटाउने निर्णय गरेको थियो । तर चौतर्फी आलोचना र विरोधपछि महानगर तत्कालका लागि पछि हटेको छ ।

पृथ्वी चोक, सभागृह चोक, न्यूरोड, वीपीचोक, महेन्द्रपुल, नयाँबजार क्षेत्रमा तत्कालै सडक पार्किङ हटाउने निर्णय थियो । खासगरी व्यवसायीहरुले विरोध गरेपछि सरोकारवालालाई बोलाएर मेयर धनराज आचार्यले सर्वपक्षीय छलफल गरेका छन् । पोखरालाई सुन्दर सहरका रूपमा स्थापित गर्न आफूले सडक पार्किङ निषेधको योजना ल्याएको उनको तर्क छ ।

‘मुख्य क्षेत्रबाट सुरु गरिएको पार्किङ व्यवस्थापन बिस्तारै अरू ठाउँमा पनि पुग्छ । पोखराको विशेषता सुन्दर सहर हो,’ उनले भने, ‘यसलाई जोगाउनुपर्छ । यो कसैको जीत र हारको विषय होइन । सबैको सरोकारको विषय हो ।’

सडकभन्दा बाहिर पर्याप्त ठाउँको व्यवस्थापन महानगरले गर्ने भन्दै उनले यो अभियान कार्यान्वयन गर्ने दोहोर्याए । पार्किङ व्यवस्थापनका लागि ३ दर्जन बढी अन्डर ग्राउन्ड र दर्जन बढी खाली जग्गाहरूमा पर्याप्त व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले तोकेका ती ठाउँमा ८ सय ८७ चार पाङ्ग्रे र ३ हजार ३ सय ६० दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने बताइएको छ ।

सभागृह, पोखरा प्रदर्शनी केन्द्र र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको मेयर आचार्यले बताए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले भने समन्वय विना महानगरले एकपक्षीय हिसाबले पार्किङ निषेधको सूचना निकालेर व्यवसायीलाई त्रास फैलाएको गुनासो गरे । एकतर्फी भए पनि सडक पार्किङ हुनुपर्ने उनको भनाइ छ ।

‘सडक पार्किङ हटाएर वर्षौंदेखि व्यवसाय गर्दै आएका व्यवसायीलाई असर गर्छ । महानगर यसमा संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘सडकको एकापट्टी भए पनि पार्किङ हुनु राम्रो हो । सहर सुन्दर बनाउने भन्दैमा सुनसान बनाउनु पनि राम्रो होइन ।’

महानगरको योजना सकारात्मक भए पनि तत्काल पार्किङ विस्थापन गर्दा व्यवसायी शिथिल हुने उनको तर्क छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय गण्डकीका प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले ट्राफिक व्यवस्थापनका लागि व्यवसायीहरूको सकारात्मक सहयोग आवश्यक रहेको बताए । सडक सुरक्षाका लागि पनि सडकमा भइरहेको पार्किङ विस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

यहाँका सेवाग्राही नागरिकले भने महानगरले सडक पार्किङ हटाएर निजी जग्गामा पार्किङ गर्ने गरी चर्को शुल्क तोकिएकोमा विरोध गरेका छन् । महानगरले निजी जग्गामा पार्किङ गर्दा दुई पाङ्ग्रे सवारीलाई प्रतिघण्टा १० रुपैयाँ र चार पाङ्ग्रेलाई प्रतिघण्टा ५० देखि ७० रुपैयाँ छ ।

मेयर आचार्यले शुल्कबारे थप छलफल गरेर सुलभ बनाउने प्रतिबद्धता जनाएका छन् । पोखराले अहिलेसम्म सडकमा पार्किङ गराएर उपभोक्तासँग शुल्क असुल्दै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *