भूकम्पप्रभावित देश टर्कीमा नेपालले स्वास्थ्य टोलीसहित अत्यावश्यक सामग्री पठाउने

काठमाडौँ । शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा भौतिक क्षति र संकटको सामना गरिरहेको राष्ट्र टर्कीलाई नेपाल सरकारले सहयोग उपलब्ध गराउने भएको छ । नेपालले टर्कीमा स्वास्थ्य टोली र अत्यावश्यक सामग्री पठाउने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौँ बैठकले उक्त निर्णय गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुनेसम्मको सहयोग गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीले भने, ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो । टर्की सरकारको दुस्खमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ।’

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति लगायत समितिका पदाधिकारी र सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *