गण्डकी प्रदेशका १७ ठाउँमा केबलकार निर्माणको प्रस्ताव, अघि बढेन निर्माण प्रक्रिया

पोखरा । सरकारले सोचेझैँ भएको भए अहिले गण्डकीमा २५ लाख विदेशी पर्यटक घुमिरहेका हुन्थे । तर समय अनुकूल भएन, ३ वर्षअघिको भन्दा पनि कम पर्यटक पोखरा आएका छन् । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षको रूपमा गण्डकीले घोषणा गरेपछि कोरोनाले छपक्कै छोप्यो ।

पर्यटकको सङ्ख्या मात्रै होइन, प्रदेशभित्र पर्यटकीय पूर्वाधारमा पनि सक्रियताका साथ लागेको थियो । तत्कालीन समयमा प्रदेशभित्रका सम्भावित ठाउँमा निजी क्षेत्रलाई आकर्षित गरी केबलकार निर्माणका लागि प्रस्ताव गरेको थियो ।

त्यतिबेला काम सुरु भएका २ वटा केबलकार लगभग निर्माण सकिएका छन् । अन्नपूर्ण केबलकार सञ्चालनमा आइसकेको छ भने बन्दिपुर केबलकार अन्तिम चरणमा छ । प्रदेश सरकारले रोपवे नेपाल कम्पनीसँग मिलेर १७ वटा केबलकार आयोजनाको सम्भाव्यता देखाएको थियो । सबैभन्दा धेरै बागलुङ र कास्कीमा ३/३ वटा तथा गोरखा, नवलपुर, लमजुङ, तनहुँ र स्याङ्जामा २/२ वटा केबलकार निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । पर्वतमा १ वटा केबलकार बनाउन सम्भव देखिएको थियो ।

कास्कीको शान्ति स्तुपा, रुपाकोट र बेगनासकोट केबलकार तथा बागलुङको भैरवस्थान, गल्कोट र कुश्मीशेरामा केबलकार बनाउन सम्भव देखिएको हो । गोरखामा गोरखा दरबार केबलकार र लिगलिकोट, नवलपुरमा देवचुली र मौलाकालिका, लमजुङमा गाउँशहर र राईनासकोट तथा तनहुँको छिम्केश्वरीमा केबलकार बनाएर चलाउन सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै, पर्वतको पातीचौर तथा स्याङ्जाको गह्रौँ कालिका र चण्डीकालिकामा केबलकार बनाउन सकिने अध्ययनले देखाएको थियो ।

छानिएका १७ मध्ये पनि ४ वटा आयोजना तत्कालै डीपीआर गरेर काम अघि बढाउन सुझाव दिइएको थियो । गोरखाको लिगलिगकोट, लमजुङको गाउँशहर, बागलुङको गल्कोट र कुश्मीशेरामा तत्कालै अध्ययन अघि बढाएर लगानीकर्ता खोज्न सके काम अघि बढाउन उपयुक्त हुने सुझाव थियो । पहाडी र हिमाली क्षेत्रमा तुरुन्तै मोटरबाटो पु-याउन सम्भव नहुने भएपछि केबलकारको प्रस्ताव अघि सारिएको हो । तर केबलकार योजनाको काम पनि अघि बढ्न सकेको छैन ।

व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन् । प्रदेश सरकारले प्रस्ताव आह्वान गर्दा ५४ वटा निवेदन परेको थियो । सम्भाव्यता अध्ययन गरिएकोमध्ये सबैभन्दा बढी उपयुक्त गोरखाको लिगलिगकोटलाई लिइएको छ । पालुङटार नगरपालिकामा पर्ने यो आयोजना बज्रेडाँडादेखि साढे २ किलोमिटर लामो हुनेछ । आयोजना पूरा गर्न ८४ करोड ३४ लाख रुपैयाँ लागत अनुमान छ । बेशिसहरदेखि गाउँशहरसम्म पुग्ने गाउँशहर केबलकारको दुरी २ किलोमिटर २ सय मिटर छ । यसलाई पनि राम्रो सम्भावनाको रूपमा हेरिएको छ ।

त्यसो त गण्डकी प्रदेशमा विश्वकै सबैभन्दा लामो केबलकार निर्माणको प्रक्रिया समेत अघि बढेको छ । कास्कीको बीरेठाँटी देखि मुस्ताङको मुक्तिनाथसम्म केबलकार निर्माणका लागि प्रारम्भिक अध्ययनहरू पूरा भएका छन् । कोरोना महामारी लगायतका समस्याले निर्माणको चरणमा भने प्रवेश गरेको छैन । नेपालमा हालसम्म केबलकारमा सरकारले लगानी गरेको छैन । गण्डकी सरकारले पनि निजी क्षेत्रलाई पूर्ण जिम्मेवारी दिने गरी केबलकारको प्रस्ताव गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *