विराटनगरका व्यवसायीले भने– ‘बैंक पोस्ने नीतिले व्यवसायीकाे आत्महत्या’

विराटनगर । प्रदेश १ का उद्योगी व्यवसायीले राष्ट्रबैकको गलत नीतिको कारण व्यवसायीले अनाहकमा ज्यान गुमाउनु पर्ने अवस्था आएको बताएका छन् ।

निजी क्षेत्रका उद्योगी व्यवसायी मोहनप्रसाद न्यौपाने र प्रेमप्रसाद आचार्यले बैंकको व्यवहार तथा ऋणको कारण अप्रिय निर्णय लिन बाध्य भई आत्महत्या गरेकाे व्यवसायीले बताएका छन् ।

मृतक व्यवसायी न्याैपाने र आचार्यकाे स्मृतिमा आयोजित श्रद्धाञ्जली तथा शोक सभामा व्यवसायीले राज्यको गलत नीतिका कारण व्यवसायीको आत्महत्या भएको बताएका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्रबैकको नीतिका कारण व्यापारीको हत्या भएको आरोप लगाए ।

राष्ट्रबैंकले ५०/१०० बैंकर्सलाई पोस्नका लागि बनाएको नीतिले अहिले व्यवसायीहरू बैंकको ऋण तिर्न नसकेर आत्महत्या , आत्मदाह गर्नु पर्ने अवस्थामा पुगेको उनको भनाइ छ ।

‘नाफाखोर बैंकको दबाबका कारण धेरै व्यापारी समस्या रहेका छन्,’ उनले भने, ‘सरकारले १ प्रतिशत घटाउने भनेको बेसरेट अहिले आएर फेरी बढाइएको छ, यो काहाँसम्मको न्यायोचित हो ?’

उनले अब नेपालको बैंकहरुको राष्ट्रियकरण गर्नु पर्ने आन्दोलन चाँडै सुरु हुने समेत रिजालले चेतावनी दिए ।

‘अब बैंकहरुविरुद्ध चाँडै आन्दोलन सुरु हुँदैछ,’ उनले भने, ‘अबको आन्दोलन बैंकको ब्याजदर घटाउने माग लिएर हुनेछैन, सबै बैंकहरुलाई राष्ट्रियकरण गर्नु पर्छ भन्नेमा केन्द्रित हुनेछ ।’

अबको आन्दोलनलाई सरकारले थेग्न नसक्ने खालको र वार्ता पनि सडकमै हुने उनले उद्घोष गरे ।

उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले खुल्ला अर्थ नीतिको नाममा बैंकहरुले अत्याचार र शोषण गरेको बताए । उनले अहिले भइरहेको अत्याचार र शोषणलाई नियन्त्रण नगर्ने हो भने सत्ता यसका लागि चलाउने भनेर सोच्नु पर्ने दिन आउन सक्ने चेतावनी दिए । कर्जा, ऋणको कारणले देहत्याग गरेका उद्योगी व्यवसायीले किटान गरेका व्यक्तिहरूलाई कानुनी कारबाही गर्नु पर्ने घिमिरेको माग छ ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले समस्या आउँदैमा इकोनोमिक डिप्रेसनमा जानु नहुने बताए । मृत्यु मात्र समस्याको समाधान नभएकोले समस्यालाई कसरी समाधान गर्ने भनेर छलफल गरेर निकास निकाल्न तर्फ लाग्न उनले व्यवसायीलाई आग्रह गरे ।

‘समस्या पर्दा पीडा हुन्छ तर सुसाइड समस्याको समाधान हैन,’ उनले व्यवसायीलाई सम्झाउँदै भने, ‘मृत्युले आफूलाई सकेपछि परिवारलाई सम्झनुस् त परिवारको अवस्था के होला ?’

उद्योगी प्रकाश मुण्दडाले राज्य नै बेसरेट घटाउनु पर्छ भनेर लागेको अवस्थामा बैंकहरुले पुस मसान्तमा आएर फेरी बेस रेट बढाएकोमा असन्तुष्ट व्यक्त गरे । उनले व्यवसायीहरू संयमित हुनु पर्ने अवस्था रहेकोले समस्या आउनेबित्तिकै छलफल गर्न आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *