सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौँ । प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।
बिहीबार भएको निर्वाचनमा काङ्ग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे निर्वाचित भएका हुन् । संसद्मा उपस्थित २ सय ६७ सांसदमध्ये घिमिरेले १ सय ६७ मत ल्याए । भने न्यौपानेले १ सय मत ल्याइन् । एक सांसद भने तटस्थ रहेका छन् ।
घिमिरेले झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनले माओवादीका हरि रानालाई पराजित गरेर प्रतिनिधि सभामा पहिलो पटक सहभागिता जनाएका हुन् ।
उम्मेदवार घिमिरेलाई सरकारमा रहेको माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनमत पार्टी बाहेक जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति र तीन स्वतन्त्र सांसदले मत दिए ।
कांग्रेस उम्मेदवार न्यौपानेलाई एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले मात्र समर्थन गरेको छ ।
२०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुन:स्थापनापछि बनेका संसद्को इतिहासअनुसार घिमिरे नेपालका नवौँ सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख भएका थिए ।








