एमालेमा कसलाई सभामुख बनाउने भन्नेमा दुई धार, ओलीको रोजाइमा घिमिरे

काठमाडौँ । प्रतिनिधिसभा सभामुखको निर्वाचन ५ माघमा अर्थात् भोलि हुने भएको छ ।  संसद् सचिवालयले मंगलबार एक सूचना जारी गर्दै आज १ बजेदेखि ४ बजेसम्मा सभामुखका लागि उम्मेदवारी दिन भनेको छ ।

हाल सरकारमा ७ दलीय गठबन्धन छ । त्यसको सहमति सभामुख एमालेको भागमा परेको छ । नेपाली कांग्रेसले पनि सभामुखका लागि उम्मेदवार बनाउने भैसकेको बेला यतिबेला कांग्रेसले भन्दा पनि गठबन्धनका तर्फबाट एमालेले सभामुखमा कसलाई उठाउला भन्ने चर्चा छ । किनकि नेपाली कांग्रेसले सभामुख र उपसभामुखको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको भूमिका मात्र निर्वाह हुनेगरी उम्मेदवार उठाउने छ । कांग्रेसका एक शीर्ष नेताका अनुसार कांग्रेसको ध्यान सभामुख निर्वाचन भन्दा पनि राष्ट्रपतिको निर्वाचनमा तानिएको छ ।

नेकपा एमालेको सचिवालय बैठक अहिले बिहान यही विषयमा छलफल गर्ने बोलाइएको छ । कांग्रेसले पनि कसलाई सभामुख उठाउने या नउठाउने निर्णय गर्ने काङ्ग्रेस पदाधिकारी बैठक बोलाएको छ ।

एमाले दुई धार 
नेकपा एमाले पार्टीमा सभामुख कसलाई बनाउने भन्ने बारेमा नेताहरू दुई धार देखिएको छ । अध्यक्ष ओलीबाट रुष्ट नेताहरूले एमालेका सचिव छविलाल विश्वकर्मालाई सभामुख बनाउन भनेका छन् भने ओली निकट नेताहरूले झापाका देवराज घिमिरेलाई सभामुख बनाउन आग्रह गरेका छन् ।

यसको अन्तिम निर्णय गर्ने अधिकार अध्यक्ष ओलीलाई हुने छ । र ओलीले कसलाई सभामुख बलाउलान् भनेर एमालेभित्रका धेरै नेताहरू पनि अन्योलमा छन् । तर यो पटक भने अध्यक्ष ओलीलाई सहज छैन । किनकि समानुपातिक सहभागीताका आधारमा सभामुख चुन्न नेताहरूले ओलीलाई दबाब दिइरहेको बुझिएको छ ।

केहिदिन अगाडि एमालेबाट ३ जना नेताको नाम सम्भावित सभामुखको सूचीमा छ थियो  । सभामुखको लाइनमा एमालेका  उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र विद्या भट्टराईको थियो तर अहिले यी तीन नामहरू भन्दा घिमिरेको नाम बढी चर्चामा आएको छ । यद्यपि, यी नाम मध्येबाट पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जसलाई रुचाउने छन् उसैलाई सभामुख दिने पक्का पक्की छ ।

केहिदिन अगाडिसम्म  सचिव छविलाल विश्वकर्मालाई सभामुख बनाउने लाइनमा रहेका ओलीले अहिले आफ्ना गृह जिल्लाका नेता घिमिरेलाई अगाडि सारेको एमाले सचिवालयका एक नेताले पुष्टि गरे । मकालुखबरसँग ती नेताले भने, ‘देवराज जीको सम्भावना बढेर गएको छ । अध्यक्ष ज्युले चाहनु भयो भने उहाँको अलिक बढी सम्भावना हो । यसको कारण झापा एमालेको किल्ला भएको र माग पनि छ । अध्यक्ष ज्युको गृह जिल्ला पनि हो । त्यो कारण पनि हुनसक्छ । देवराज जी स्वच्छ छवि भएको इमानदार र पुरानो र अवसर नपाएको कम्युनिस्ट भएकोले गर्दा उहाँको सम्भावना बढेर गएको छ ।’

एमालेका अर्का नेताले ओलीले घिमिरेलाई सभामुख बनाए समानुपातिक सहभागिता र प्रतिनिधित्वको एमालेको चाहाना पूरा नहुने बताएका छन् । उनले मकालुखबरसँग भनेका छन्, ‘नाम आएका मध्ये एमालेले छविलाल जीलाई बनाउनु पर्छ भन्ने हाम्रो माग हो । छविलाल जीलाई सभामुख बनाए एमालेको सपना र कम्युनिस्ट आन्दोलनको सपना पनि पूरा हुन्छ । यो विषयमा अध्यक्ष ज्यु गम्भीर हुनुहुन्छ भन्ने लागेको छ । नाम फाइनल भएको छैन । अध्यक्षले एकलौटी निर्णय गरे हामी प्रतिकार गर्नेछौँ । यो पटक छविलाललाई दिऊ भन्ने हाम्रो माग हो ।’

यस्तै, एमालेका अर्का पदाधिकारीले पनि छविलाल विश्वकर्मा सभामुख बन्ने सम्भावना जीवित रहँदा अध्यक्ष ओलीले घिमिरेलाई अगाडि सारेको तर्के गरे । ती नेताले भने, ‘खासमा छविलाल जीलाई सभामुख दिन अध्यक्ष तयार हुँदै हुनुहुन्थ्यो तर पृथ्वी जीले पनि आफ्नो अडान नछाड्ने भएपछि घिमिरेको नाम आएको हो । दुई जनाको लडाइ भएपछि घिमिरेलाई अध्यक्ष ज्युले अगाडि सार्नु भएको हो ।’

इतिहासमै दलित समुदायबाट प्रतिनिधित्व एमालेबाट हुने भएको विश्वकर्मालाई सभामुख बनाउन यो पटक ओलीलाई घचघच्याइने ती नेताले बताए ।

त्यसो त पहिलो संविधान सभाको निर्वाचनपछि सभाध्यक्ष र सभामुख भएर लामो अनुभव हासिल गरेका सुवासचन्द्र नेम्वाङको नाम पनि राष्ट्रपति र सभामुखमा पनि नआएको होइन । राष्ट्रपति बन्न त आफू तयार नै रहेको उनले सार्वजनिक वक्तत्वहरुमा पनि बताउँदै आएका छन् । तर, सरकारले कांग्रेसको विश्वासको मत पाएसँगै राष्ट्रपति एमालेको हातबाट फुत्किने प्रबल सम्भावना देखिएको छ । अर्कोतर्फ नेम्वाङले यसपटक सभामुख बन्ने इच्छा देखाएका छैनन् ।

के भन्छन् विश्वकर्मा र घिमिरे ?
विश्वकर्मा र घिमिरेले यो विषयमा आफूहरूलाई कुनै जानकारी  नआएको तर्क गर्छन् । पार्टीले जुनसुकै जिम्मेवारी दिएपनि आफूहरूले स्वीकार गर्ने उनीहरूको तर्क छ ।  विश्वकर्माले  रुपन्देही १ बाट घनश्याम भुसाललाई पराजित गरेका थिए भने घिमिरेले झापा क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । उनले माओवादीका हरि रानालाई पराजित गरेर प्रतिनिधि सभामा पहिलो पटक सहभागिता जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *