को हुन् नवनियुक्त सञ्चारमन्त्री रेखा शर्मा ?

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले  आज  पदभार ग्रहण गरेकी हुन् ।

को हुन् शर्मा

मन्त्री शर्मा दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोख्रेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन् । शर्मा यसअघि पनि केन्द्र सरकारको मन्त्री भएर जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेललाई हराउँदै प्रतिनिधि सभा सदस्यमा विजयी हुन सफल रेखा शर्मा माओवादीबाट प्रत्यक्षमा चुनाव जित्ने एक्लो महिला संसद हुन् । माओवादी केन्दले ८ जना महिलालाई टिकट दिएको थियो । तर निर्वाचनमा रेखाले मात्र माओवादीको विरासत बचाउन सकिन् । तत्कालीन सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी नेता शर्माले पोखरेललाई जम्मा १९६ मतान्तरले हराएकी हुन् । शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत पाएका थिए ।

२०२६ सालमा दाङमा जन्मिएकी शर्माले २०४२ सालमा अनेरास्ववियुको स्कुल इकाई कमिटीबाट विद्यार्थी राजनीतिक यात्रा सुरु गरेकी हुन् । २०५३ सालदेखि ०५८ सम्म उनी अनेमसंघ क्रान्तिकारीको अध्यक्षको जिम्मेवारीमा रहिन् । एमाले र माओवादीको एकतापछि बनेको नेकपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी हाल माओवादीको स्थायी कमिटी सदस्य छिन् ।

२०७० बाट संसदीय यात्रा सुरु गरेकी शर्मा २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीबाट निर्वाचित भएकी थिइन् । २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म उनी सामान्य प्रशासन मन्त्रीको जिम्मेवारीमा समेत थिइन् । उनी अाज मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त भएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *